उर्लाबारी/झापाको दमक ६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले गत वर्षकाे संस्था सञ्चालनबाट सरकारलाइ ६७ लाख २३ हजार ५५८ रूपियाँ राजश्व तिरेकाे छ । यस्तै स्वर्णलक्ष्मीले ४ करोड १० लाख ३६ हजार ३३० रुपियाँ कर्जा नोक्सानीमा ब्यवस्था गरेको छ ।सहकारी संस्थाले कर्जा नोक्सानी व्यवस्था गरेर मात्र नाफा बाँडफाँड गर्नुलाई राम्रो मानिन्छ ।
सोमबार मोरङको उर्लाबारी सेवा केन्द्रको इकाई साधारणसभाको उद्घाटन गर्दै मोरङ १(१) का प्रदेश सभा सदस्य उमाकान्त गौतमले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा सहकारी संस्थामा समस्या देखिएको बताउनु भएको छ ।
सांसद गौतमले सहकारीको मूल मर्म नै उद्यम भएको बताउँदै आयात प्रतिस्थापन हुने गरी उत्पादनमा नलागेसम्म सहकारीको लक्ष्य प्राप्ति नहुने उल्लेख गर्नुभयो । सांसद गौतमले सरकार सहकारी प्रति अनुदार नभएको उल्लेख गर्दै सहकारीले नै आफ्नो बाटो बिराउँदा जटिल समस्याहरू आएको बताउनु भयो । एक फरक प्रसङ््गमा उहाँले कोशी प्रदेश सरकारले कृषिमा अनुदान बन्द गरेर उद्यम गर्ने किसानलाई ब्याज छुट दिने प्रबन्ध मिलाउने तयारी गरिरहेको उल्लेख गर्नुभयो । राज्यको तीन खम्बे अर्थब्यवस्था भित्रको एक खम्बा सहकारी क्षेत्र रहेको बताउँदै उहाँले सहकारीले राज्यको पूँजी निर्माण गर्न भरथेग गरिरहेको उल्लेख गर्नुभयो ।
स्वर्णलक्ष्मीले मात्र गत आवको सञ्चालन आम्दानीबाट विभिन्न शीर्षकमा झण्डै ६८ लाख रुपियाँ कर तिरेको उल्लेख गर्दै सांसद गौतमले विधि र प्रविधिबाट सहकारी सञ्चालन भए शेयर सदस्य, सञ्चालक , कर्मचारी, समूदाय र राज्यलाई फाइदा रहेको बताउनु भयो ।
उर्लाबारी –५ स्थित उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापा,उर्लाबारी उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाका अध्यक्ष भानुभक्त शर्मा र सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीले शुभकामना भाषण गर्नु भएको थियो । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सांसद गौतमले सम्मान गर्नु भएको थियो ।
गत आवमा संस्थाले १ अर्व १६ करोड १६ लाख ९८ हजार ८४२ रुपियाँको कारोवार गरी १ करोड ५० लाख ४० हजार २२९ रुपियाँ शुद्ध बचत गरेको छ । संस्थाको शेयर पुँजी ११ करोड ११ लाख ९८ हजार १ सय रुपियाँ रहेको छ भने जगेडा कोष लगायत विभिन्न कोषमा ९ करोड २२ लाख २३ हजार २९८ रुपियाँ रहेको छ । संस्थाले असार मसान्त सम्ममा ४ करोड १० लाख ३६ हजार ३३० रुपियाँ कर्जा नोक्सानी ब्यवस्था गरेको छ । यस्तै संस्थामा ७३ करोड १० लाख १२ हजार ७७५ रुपियाँ बचत तथा निक्षेप रहेको छ । गत असार मसान्तसम्ममा ९९ करोड ५२ लाख ६६ हजार ३१० रुपियाँ ऋण लगानी गरेको स्वर्णलक्ष्मीले ११ करोड २८ लाख १९ हजार ७७२ रुपियाँ विभिन्न छाता संघसँग ऋण लिएको छ ।
संस्थाले आर्थिक वर्ष ०८०/८१ को कारोवारबाट शेयर सदस्यलाई ६३ लाख २ हजार ७९५ रुपियाँ शेयर लाभांस वितरण गर्ने भएको छ । यस्तै संरक्षित पुँजी फिर्ताकोषको २८ लाख २० हजार ४२ रुपियाँ समेत ऋणमा ब्याज लिएको आधारमा ६० प्रतिशत र बचतमा ब्याज दिएको आधारमा ४० प्रतिशत सदस्यलाई फिर्ता दिइनेछ ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको १५ औं साधारणसभाको उर्लाबारी ईकाईको कार्यक्रम संस्थाका ब्यवस्थापक कमलकुमार घिमिरेले सञ्चालन गर्नुभएको थियो ।
झापाको झिलझिले,सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्र रहेको स्वर्णलक्ष्मी साकोसमा ९ हजार ६२१ जना सदस्य रहेका छन् । ४६ जना कर्मचारीले सेवा दिइरहेको स्वर्णलक्ष्मी साकोस नेफ्स्कुनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तरगत एक्सेसमा आवद्ध साकोस हो ।

























