Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । अठार वर्ष अघि घरमा खानका लागि दश पोका च्याउ रोपेर परीक्षण गर्दा राम्रो उत्पादन भएपछि मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको ब्यावसायिक उत्पादनमा लाग्नु भयो ।
१८ वर्षयता उहाँ निरन्तर च्याउ उत्पादनमा सक्रीय हुनुहन्छ । कुनै बेला पुस र माघ महिनामा मात्र च्याउ खेती गरिन्थ्यो । अहिले बाह्रै महिना च्याउ खेती गर्न सकिने प्रविधि भित्रिएको छ । स्थानीय ६० जनालाई रोजगार दिएर दैनिक १ हजार दुईसय किलो च्याउ उत्पादन गरिरहनु भएका बस्नेत वार्षिक खर्च कटाएर ३० लाख रुपियाँ आम्दानी हुने गरेको बताउनु हुन्छ । कुनै कुनै वर्ष घाटा हुन्छ । मौसम प्रतिकुल हुँदा लगातार दुई वर्ष १५ लाख र २५ लाख घाटा भएको बस्नेतको भनाई छ ।
बस्नेतको आधुनिक च्याउ उद्योगले हाल उर्लाबारी बाहेक मोरङ कै टाँढी,बेलबारी र गछियामा पनि च्याउ उत्पादन गरिरहेको छ । अहिले च्याउ मात्र होइन । च्याउको बीउ पनि उत्पादनमा लाग्नु भएका बस्नेतले कोशी प्रदेशका १० जिल्ला र मधेशका केही जिल्लामा बीउ बिक्री गरिरहनु भएको छ । बिगतमा भारतबाट बीउ आउने ग¥थ्यो । हाल नेपाली उत्पादनले नपुग्दा मात्र भारतीय बीउ आउने गरेको उद्योगका ब्यवस्थापक भुमिका बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार हाल उद्योगले २ सय ग्रामका ५ सय पोका बीउ उत्पादन गरिरहेको छ ।

 


भुमिकाले भन्नुभयो – १० पोका च्याउ उत्पादनबाट ब्यवसाय सुरु गर्नुभएको रहेछ । हाल २ करोड रुपियाँ उद्योगमा लगानी भइसकेको छ । उद्योगले आफ्नो उत्पादन मात्र होइन , आफूसँग बीउ खरिद गरेर ब्यावसायिक उत्पादन गर्ने किसानको उत्पादन पनि खरिद गरिदिने गरेको छ ।
बस्नेतसँग ५ वटा गाडी छन् । झापाका विभिन्न गाउँ र मोरङमा आफूले उत्पादन गरेको च्याउ सङ्कलन र बजारीकरणका उहाँले ति गाडी प्रयोग गर्नुहुन्छ । हाल च्याउ उत्पादनको मुख्य सिजन हो । यतिबेला किसानको बारिमा तरकारी पनि प्रसस्त उत्पादन हुन्छ । त्यसैले हाल च्याउको मूल्य घटेको छ । ब्यवस्थापक बस्नेतले भन्नुभयो –तेस्रो र चौथो पटक टिपेको च्याउ प्रति केजी सय रुपियाँमा बिक्री गर्दा पनि घाटा लाग्दैन । सबैतिरका किसानको सङ्कलन गर्दा दैनिक ३ हजार देखि ३५ सय किलो च्याउ उद्योगमा जम्मा हुन्छ ।
बस्नेतको संयुक्त परिवारमा १२ जना हुनुहुन्छ । ६ जना छोराछोरी बाहेक सबै च्याउ, उत्पादन, बजारीकरण र प्रवद्र्धनमा जुट्नु भएको छ । सञ्चालक देवेन्द्र बस्नेतले भन्नुभयो – हाम्रो सबै थोक यही हो । यसैमा भविष्य देखेर ठूलो लगानी गरिसक्यौं । अब पछाडि फर्कने अवस्था छैन् ।
कोशी प्रदेशमा पहिलो पटक बोयल प्रविधिबाट उत्पादन सुरु गर्नु भएका बस्नेतले एकै पटकमा ६ वटा ड्रममा पराल बोयल गर्नु हुन्छ ।यो प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देबेन्द्रको भनाई छ । आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले विगत १८ बर्षदेखि च्याउ खेती गर्दै आउनु भएका देबेन्द्रलाई ४ वर्ष साउदी अरव बसेर आएका भाइ गोपालले पनि भरपुर साथ दिनुभएको छ ।
ब्यावसायिक सफलता हात लागेपछि बस्नेतलाई कृषि ज्ञान केन्द्र मोरङले १५ लाख रुपियाँ अनुदान पनि दिएको छ । त्यसयता बस्नेतले ब्यावसायबाट मान,सान र दाम बटुलिरहनु भएको छ ।
२०५३ सालमा झापा बाहुनडाँगीका हिरन्य भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिनु भएका देबेन्द्र सफल च्याउ किसानका रुपमा पूर्वमा कहलिनु भएको छ ।उहाँले उत्पादन गरेको च्याउ कोशी प्रदेशभरि र मधेश प्रदेश सम्म पुग्ने गरेको छ । बढी उत्पादन हुँदा च्याउलाई ड्राई (सुकुटी) बनाउने प्रविधि ल्याउन सके च्याउ कुहिएर नाश हुने थिएन , बस्नेतले भन्नुभयो ।



Share via
Send this to a friend