Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
चतरा । सप्तकोशी नदीको पानी किसानका गरा गरामा पु¥याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी मोरङ सिचाई योजनाका अधिकांश संरचना जीर्ण भएका छन् । आधा शताब्दि पहिला निर्माण भएका संरचनाको आयु सकिएर जीर्ण हुँदा हरेक वर्ष सरकारले मर्मत सम्हार गर्दै मुल नहर र २१ वटा शाखा नहरबाट किसानलाई पानी वितरण गरिरहेको छ ।
सिंचाई योजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याएको छ । तर, संरचना जीर्ण हुँदै जाँदा वर्षायाममा आउने बाढीले कति बेला साइफन र नहर माथिका पुल भत्काउँछ भन्ने चिन्ता सुरु भएको छ । जीर्ण भएको लोहोन्द्रा खोलाको पुल र पुल मुनिको साइफन २०७४ साउन २८ गतेको बाढीले भत्काएपछि खोला पूर्वका किसानले ६ वर्षसम्म आकासे पानीको भरमा खेती गर्नु परेको थियो । बाढीले पुलसँगै साइफन भत्काएर बगाउँदा ३४ करोड रुपियाँ क्षति भएको थियो । नहरको पानी जाने कुलो (साइफन ) भत्किएपछि मोरङको लोहोन्द्रा पूर्वको ११ हजार हेक्टर जमीनमा सिंचाई हुन सकेको थिएन ।
हाल आएर कोशीबाट केरौन सम्मको ५३ किलोमिटर नहर क्षेत्रका अधिकांश पुल, साइफन, एक्वाडक्ट , कन्ट्रोल क्रस रेगुलेर जीर्ण भइसकेका छन् । सुनसरी मोरङ सिंचाई आयोजना प्रमुख मनोहर साहले भन्नुभयो – ५० वर्ष अघि जनसङ्ख्या र खेती क्षेत्र कम थियो । त्यसबेला १५ देखि २० प्रतिशत क्षेत्रमा गहुँ,तोरी, मकै खेती हुन्थ्यो । हाल आएर ८० देखि ९० प्रतिशत जग्गामा खेती हुन थालेको छ । त्यसैले हिउँदमा पानीको अभाव भएको हो । मुहानमा पानी नै हुँदैन । कोशीको पानीे पूर्वतर्फ नधकेले सम्म मुहानमा पानी आउने अवस्था छैन । बिगतमा जति पानी आउँथ्यो ,त्यसैले प्रसस्त हुन्थ्यो । हाल आएर गहुँ र मकै खेती धेरै हुन थालेको छ । त्यसैले दीर्घकालिन सुधारको आवश्यकता भएको हो ।
सन् १९७५ मा भारतले कोसी नदीको पूर्वपट्टी चतरामा प्रतिसेकेण्ड ४५ दशमलव ३ क्यूमेक्स पानी फ्याल्ने साईड इन्टेक बनाएर ५३ किलोमिटर लामो मुल नहर ११ वटा शाखा नहर र ३६ वटा माइनर नहर निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो । ०३५ सालदेखि सरकारले विश्व बैंकको ऋण सहयोगमा चरणबद्ध रुपमा योजनाको विकास गर्दै अहिलेको अवस्थामा ल्याएको हो ।
हाल प्रतिसेकेण्ड ६० क्यूमेक्स पानी बग्ने क्षमताको योजनाको मुल नहरका संरचना जीर्ण हुँदा बर्खायाममा संरचना जोगाउनै समस्या भएको छ । सप्तकोसी नदी एसिया कै बढी वालुवा फाल्ने दोस्रो नदी हो । इन्टेकबाट मुल नहरमा पसेको बालुवा निकाल्ने दुई वटा मेसिन मध्ये एउटा बिग्रिएर थन्किएको वर्षौं भयो ।एउटा मेसिनले १८ घण्टासम्म काम गर्दा पनि बालुवा निकालि सक्दैन । जसले गर्दा नहर पुरिदै गएको छ । नदीमा पानीको सतह घट्ने क्रम र नहर पुरिने क्रम बढेकोले तत्काल सप्तकोशीमा ‘वेडवार’(पानी छेक्ने साधारण बाँध) निर्माण गर्नुपर्ने भएको छ ।
चतरा मुल नहर जलउपभोक्ता संस्थाका सचिव खङ्गलाल साहले भन्नुभयो –हिउँदे बालीका लागि प्रतिसेकेण्ड न्यूनतम ३० क्यूसेक पानी आवश्यक पर्छ । तर योजनाको मुहानमा प्रतिसेकेण्ड ६ देखि १० क्यूमेक्स मात्र पानी उपलब्ध हुने गरेको छ । सप्तकोशीमा नयाँ पुल बनाउँदा पानी उदयपुर(पश्चिम) तर्फ ढल्क्यो । पूर्व तर्फको इन्टेकमा पानी नै छैन् । स्परहरू भएको ठाउँमा कमिला कुद्न थालेका थालेका छन् । साहले भन्नुभयो – वेडवार लगाएर पानी नछेक्ने हो भने सुनसरी र मोरङको उत्पादन ६० प्रतिशतले घट्ने छ । साहले खाद्य सुरक्षा र खाद्यान्यको उत्पादनलाई यही स्थितिमा राख्न पनि सरकारले आयोजनालाई महत्वका साथ हेर्नु पर्ने बताउनु भयो ।
पाँच दशक पहिला ईटले बनेका प्राय सबै संरचना जीर्ण छन्। ति सबैलाई मर्मत र टालटुल गरेर सञ्चालन गरिएको छ । आयोजना प्रमुख साहले भन्नुभयो – योजनाका सबै संरचना प्रतिस्थापन गर्न अर्बौं रकम लाग्छ । यो सरकारको पहुँचभन्दा बाहिरको कुरा हो । उहाँले वार्षिक ५० करोड रुपियाँँ मर्मत र संरचना निर्माणमा खर्च भइरहेको बताउनु भयो । साहका अनुसार हाल १ अर्व ७ करोडको योजना निर्माणधीन अवस्थामा छन् । सप्तकोसीबाट आउने पानीको स्रोत घटेपछि स्थानीय साना खोला नाला ,सीमसारको पानी मुल नहरमा हाल्नका लागि लोहोन्द्रामा काम भइरहेको छ ।
५३ किलोमिटर लामो मुल नहरमा ८ वाट सुपर प्यासेज, एक्वाडक्ट ३६ वटा, साइफन दुईवटा, कन्ट्रोल क्रस रेगुलेर १६ वटा छन् । ती सवै जीर्ण छन् । तिनैको मर्मत र नयाँ संरचना निर्माणमा वार्षिक ५० करोड रुपियाँ खर्च हुँदै आएको आयोजना प्रमुख मनोहर साह बताउनु हुन्छ ।
हिउँदमा मुहानको पानी फर्काउन योजनाले अहिलेसम्म कोसीको पश्चिमतर्फ करिब ६० करोडको लागतमा ८ वटा स्पर निर्माण गरिसकेको छ । त्यो स्परले पनि काम नदिएपछि यसपाली मुल नहर उपभोक्ता समितिले वेडवार बनाएर पानी इन्टेक तर्फ हाल्ने योजना अघि सारेको छ । मूल नहरका अध्यक्ष तपन दासले भन्नुभयो – पानी उदयपुर तर्फ ढल्केको छ । एकातर्फ सुनकोशी मरिड डाइर्भसन निर्माण भएपछि सप्तकोशीमा ६७ प्रतिशत पानी स्वतः घट्नेछ । बाँकी पानी पनि उदयपुर तर्फ गएपछि सुनसरी मोरङ सिंचाई आयोजना बन्द गरिदिए हुन्छ । उहाँले देशको कुल अन्न उत्पादनको ४५ प्रतिशत हिस्सा झापा, मोरङ र सुनसरीसँग निर्भर भएको बताउँदै यही क्षेत्रमा पानीको अभाव भयो भने खाद्यान्यको परनिर्भरता अझ बढ्ने उल्लेख गर्नुभयो ।



Share via
Send this to a friend