Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

माेरङ । राष्ट्रिय राजमार्गको बैकल्पिक सडकका रुपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको बन क्षेत्रका रुख हटाउन मन्त्री स्तरीय निर्णयले स्वीकृति दिएसँगै रुख कटान गर्ने बाटो खुलेको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र बन तथा वातावरण मन्त्रालय बीच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको डिपीआर भएको जङ्गल क्षेत्र भित्रका छपान लगाएका रुखहरू २६ महिना यता कटान भएका थिएनन् । नेपाल सरकार मन्त्री परिषदको २०८१ मङ्सिर ६ गतेको बैठकले निर्णय गरे अनुसार डिपीआर गरिएको क्षेत्रका रुख कटान गर्ने बाटो खुलेको हो । मदन भण्डारी राजमार्गको धरान–केरावारी,लेटाङ–मधुमल्ला,बेलडाँगी सडकखण्ड,शान्तिनगर–पातापुर र वारफलाङ्फेदि–शान्तिनगर सडकखण्डका रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण कार्य रोकिएको थियो ।

 

कोशी प्रदेश भित्र पर्ने आयोजनाको निर्माणधीन ९५ दशमलव ८ किलोमिटर लम्वाईको यस सडकको अधिकांश क्षेत्र जङ्गल भित्र पर्छ । धरान–केरावारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटर भित्र ५ हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगर देखि पातापुर सडकखण्डको १३ दशमलव ८७ किलोमिटर क्षेत्रमा ३ हजार ६८९ वटा रुख पर्छन ।यस्तै वारफलाङ्फेदी देखि शान्तिनगरसम्मको १३ किमी क्षेत्रमा २ हजार ८८० वटा रुख रहेका छन् । मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सुचना अधिकारी सुभाषकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिनु पत्राचार गरेको थियो । तर, त्यसबेला रुख हटाउन वन मन्त्रालयले चासो देखाएन । सुचना अधिकारी दत्तले भन्नुभयो – सुनसरीको सर्दु खोला देखि झापाको बेलडाँगीसम्म ४६ किलो मिटर सडक सण्डमा बनको ३६ हेक्टर जग्गा पर्छ । उक्त जग्गा भोगाधिकारका लागि सरकारले स्वीकृति दिएको छ । स्वीकुति दिनासाथ रुख काट्न पाइदैन । ३६ हेक्टर जमीन आयोजनाले खरिद गरेर दिनु पर्छ वा सो जग्गाको मूल्य बरावरीको राजश्व वन विकास कोषमा जम्मा गर्नुपर्छ । तर,अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदियो भने रुख काट्ने बाटो खुल्छ । अर्थ मन्त्रालयले आशावादी बनाएकोले अब प्रक्रिया अघि बढ्छ भन्नेमा आयोजना विश्वस्त छ,सुचना अधिकारी दत्तले भन्नुभयो ।


तर,मोरङ जिल्लाका प्रमुख वन अधिकृत उत्सव थापा जग्गा सट्टाभर्ना पहिलो सर्त भएको बताउनु हुन्छ । थापाले भन्नुभयो – सरकारको वन क्षेत्र ४५ प्रतिशत नघटाउने लक्ष्य छ । आयोजनाले सट्टामा जग्गा दियो भने सोही जग्गामा वृक्षारोपण गरेर वन विस्तार गर्नुपर्छ । अन्यथा वन नियमावलि अनुसार वन विकास कोषमा ३६ हेक्टर वन क्षेत्रको राजश्व जम्मा भएपछि मात्र कटान आदेश हुन्छ । उहाँले ३६ हेक्टर मध्ये २५ हेक्टर वन क्षेत्र मोरङ जिल्लामा पर्ने जानकारी दिनुभयो ।
आयोजनाका सुचना अधिकारी सुभाषकुमार दत्तका अनुसार मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दु खोला देखि झापाको पातापुरसम्म १२७ दशमलव ८ किमी लम्बाई पर्छ । जसमध्ये कमल खोला देखि सहादतस्थलसम्म ३२ किमी र चतरा देखि सर्दु खोलासम्म ६ किमी ठेक्का लागेको छैन् । ३२ किमीको आइईई नै भएको छैन् भने ६ किमीको ठेक्का प्रक्रिया सुरु भएको छ । ठेक्का लागेको ९५ दशमलव ८ किमी मध्ये १९ दशमलव ५ किमी सडक मात्र कालोपत्रे भइसकेको छ । सडक निर्माणका लागि १२ वटा अलग अलग ठेक्का सम्झौता भएका छन् । सम्झौता अनुसार आयोजनाको कालोपत्रको काम २०८१ को पुस २७ गते सम्पन्न गर्नुपर्नेछ । तर,सडकमा पर्ने रुख नहटाइदिँदा निर्माण कम्पनी मोतिदान कन्ट्रक्सनले पुन म्याद थपका लागि पत्राचार गरेको छ । सुचना अधिकारी दत्तले एक वर्ष म्याद थप हुन सक्ने बताउनु भयो ।
किन रोकियो रुख कटान


डिभिजन बन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले भन्नुभयो–सुरुमा सडकको केन्द्र विन्दूबाट १०÷१० मिटर दाँयाबाँयाका रुख हटाउन पत्राचार भएको थियो । सोही अनुसार बन कार्यालयले काम सुरु ग¥यो । प्रतिवेदन बनाएर पठाउने तयारी भइरहेको बेला सडकको केन्द्र विन्दूबाट दाँयाबाँया १५÷१५ मिटरका रुख हटाउनु पर्ने भनेर सुचना आयो । पुन जिल्ला बनहरूले सोही अनुसार गर्ने तयारी थालेका थिए । त्यसपछि फेरि बनमा धेरै ठूलो क्षति हुने भन्दै पूर्ववत काम गर्न आयोजना तयार भयो । समय–समयमा फरक फरक सङ्ख्यामा रुख हटाउनु पर्ने सुचना आएपछि काम रोकिएको ठाकुरको भनाई छ । मोरङमा मात्र ३५ दशमलव ४ किमी सडक पर्छ । जसमध्ये ७ किमी जङ्गल क्षेत्र रहेको छ । जङ्गलका रुखमा नम्बर लगाउने बाहेक कुनै काम अघि बढेको छैन् । यस्तै सुनरीमा ७ किमी, झापामा ३ किमी र इलाममा ६ किमी जङ्गल क्षेत्र पर्छ । सुनसरीको चतरादेखि पूर्व ठाउँठाउँमा रुख कटान नहुँदा राजमार्ग निर्माण प्रभावित भएको छ ।
मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने यो राजमार्गमा १८२ पुल हुनेछन् । यो राजमार्ग झण्डै १ हजार २ सय किलोमिटर लामो छ । सडक सञ्जाल पुर्ण रुपमा तयार भएपछि १९ वटा जिल्लाका करिब ७२ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित गर्ने बताइएको छ ।झापाको शान्तिनगरबाट सुरु भएको मदन भण्डारी राजमार्ग झापाको शान्तिनगरबाट सुरु भई सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी, तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ । हाल यो राजमार्गमार्फत झापाबाट उदयपुर सिन्धुली हुँदै हेटौंडासम्म निर्माण भइसकेको छ ।



Share via
Send this to a friend