हरिप्रसाद कोइराला
उर्लाबारी । मनसुन सुरु हुनु अगाबै लगातार पानी परेपछि पूर्व पश्चिम राजमार्ग विस्तार र पूल निर्माणको काममा जटिलता उत्पन्न भएको छ ।
विगत वर्षहरूमा पूर्वी नेपालमा सामान्यतया असार पहिलो साता देखि मनसुन सक्रिय हुने ग¥थ्यो । यो वर्ष जेठ २ गते देखि पर्न थालेको पानी अझै रोकिएको छैन । जेठ २ गते यता काकरभिट्टा–लौकही क्षेत्र भित्र चौविस घण्टामा एकपटक पानी नपरेको दिन छैन् । एशियन हाइवेको प्याकेज नम्बर २ को सडकमा पुरानो कालो पत्रे उक्काएर बेस समेत ओच्छ्याइ सकिएको छ । बेसलाई पानी लगाउँदै रोडरोलरको सहायताले थिच्नुपर्ने हुन्छ । तर,आवश्यकता भन्दा बढी पानी भएकोले बेश ब्यवस्थापन चुनौतिपूर्ण भइरहेको छ ।सडक तथा पूल निर्माण कम्पनी सिआरएफजी–तुङ्दी जेभीका सञ्चालक भक्त लामाले भन्नुभयो– सडक कालोपत्रे गर्न आवश्यक सबै पूर्वाधार तयार भइसकेको छ ।अस्फाल्ट प्लान्ट राखेर परीक्षण उत्पादन पनि गरिसक्यौं । मौसम मात्र बाधक भएको छ । उहाँले जेठ मसान्तसम्ममा कम्तीमा दश किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको जानकारी दिनुभयो ।
सडक निर्माणमा मात्र होइन । पूल निर्माणमा समेत पानीले असर गरिरहेको छ । लामाका अनुसार पूलको पाइलिङको काम सकिएको छ । पाइलिङ माथिको काम गर्न मेसिनले पानी फाल्दा पनि असम्भव भइरहेको छ । एकातिर खोलालाई च्यानलाइज ग¥यो राति नै खोलामा बाढी आएर च्यानल बगाइदिन्छ । उहाँले पानीको कारण लक्ष्य अनुसार काम गर्न नसकिएको बताउनु भयो । हालसम्म सिआरएफजी–तुङ्दी जेभीले काम गरिरहेको प्याकेज नं.२ मा २२ प्रतिशत र प्याकेज नंं ५ मा १८ प्रतिशत भौतिक प्रगति भएको छ ।
दोस्रो खण्डमा झापाको केर्खा देखि मोरङको गोठगाउँ सम्म ४० किलोमिटर सडक पर्छ । ९ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो खण्डमा १८ किलोमिटर लम्बाई जङ्गल क्षेत्रमा पर्छ ।कम विवाद र समयमा नै साइट क्लियर भएकोले यो खण्डमा २२ भौतिक प्रगति भएको हो । जङ्गल क्षेत्रमा वर्षा सुरु हुनु अगावै कालोपत्रे गर्ने निर्माण कम्पनीको तयारी छ ।

पाँचौं प्याकेजमा ठेक्का लागेका पश्चिम खण्डका तीन वटा खोला रतुवा, बक्राहा र लोहन्द्रामा तीन सय मिटर लामा पुल निर्माण भइरहेका छन् । पुल निर्माणको काम पुर्वी खण्ड कै निर्माण कम्पनीले गरिरहेको योजना प्रमुख जगत प्रजापतिले बताउनु भयो । उहाँका अनुसार तीन वटा पुल ५ अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको छ । पश्चिम खण्डका पूलको हालसम्म १८ प्रतिशत भौतिक प्रगति भएको छ ।
प्याकेज नं. ३ मा अझैसम्म कछुवाको गतिमा काम भइरहेको छ । पूर्व पश्चिम राजमार्ग विस्तार आयोजना एडिवी पश्चिम कार्यालय इटहरीक सुचना अधिकारी पल्लव श्रेष्ठका अनुसार प्याकेज ३ मा मोरङको गोठगाउँबाट इटहरी उपमहानगरपालिकाको लविपुरसम्मको १० दशमलव ७६ किलोमिटर सडक पर्छ । यो खण्ड चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लागेको हो ।यो सडकको हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
सुचना अधिकारी श्रेष्ठले भन्नुभयो – पथरी खोलाको पुल असार अगाडि तयार गरिनेछ । यस्तै हालसम्म ५३ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् भने ३८ वटा अन्तिम चरणमा छन् । पशु चौपायका लागि निर्माण भएका ११ वटा वाइपासहरू ( सडक मुनिबाट हात्ती,मृग,गाई वस्तु वारपार गर्ने) निर्माणधीन् अवस्थामा छन् । राजमार्ग छेउका विद्युत पोलहरू प्राधिकरणले समयमा स्थान्तरण नगरिदिएकोले पनि काममा केही समस्या भएको श्रेष्ठको भनाई छ ।

























