इनरुवा । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रका आधा भन्दा बढी (५६३ वटा ) सहकारी सङ्घ, संस्थाले आव २०८०÷०८१ को विवरण बुझाएका छैनन् । विवरण नबुझाउने सहकारी ५२ दशमलव ३७ प्रतिशत रहेका छन् । प्रदेश सहकारी रजिष्ट्रारको नियमनमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी सङ्घ र संस्था रहेका छन् ।
गत वर्ष एक हजार ७७ वटा सहकारी संस्था मध्ये ५७७ वटा अर्थात ५३ दशमलव ७० प्रतिशत सहकारी संस्था,सङ्घले विवरण बुझाएका थिएनन् । अघिल्लो आव भन्दा गत आवमा १ दशमलव ३३ प्रतिशत प्रगति भएको रजिष्ट्रार कार्यालयले जनाएको छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका वरिष्ठ शाखा अधिकृत मनोज कार्कीका सबैभन्दा बढी झापाका १५४ वटा सहकारीले विवरण बुझाएका छैनन् । झापामा प्रदेशको नियमन क्षेत्रमा ३२८ वटा सहकारी सङ्घ र सस्था रहेका छन् । झापाका ९० वटा सहकारीले जरिवाना तिरेर र ८४ वटाले नतिरिकन सहकारी संस्था अध्यावधिक गरेका छन् । झापाका ४७ प्रतिशत सहकारी अध्यावधिक भएका छैनन् । त्यस्तै मोरङ ३२ दशमलव ४ प्रतिशत अर्थात ९१ वटा सहकारी अध्यावधिक भएका छैनन् । मोरङका २८१ वटा सहकारी र सङ्घलाई प्रदेश रजिष्ट्रार कार्यालय नियमन गर्दै आएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार पहाडी जिल्लाको सहकारी गतिविधि अझ दयनीय बन्दै गएको छ । भोजपुरमा ९४ दशमलव ७४ प्रतिशत सहकारीले विवरण बुझाएका छैनन् । भोजपुरमा १९ वटा सहकारी प्रदेशको नियमन क्षेत्रमा रहेका छन् । जसमध्ये १८ वटाले विवरण बुझाएका छैनन् । सोलुखुम्बुका १४ मध्ये १३ वटाले विवरण बुझाएका छैनन । त्यस्तै संखुवासभामा १९ मध्ये १३ वटा,ओखलढुङ्गामा २६ मध्ये २४ वटाले विवरण बुझाएका छैनन् ।
























