हरिप्रसाद कोइराला
केराबारी । ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटा सडकका रुपमा ६ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी–सिंहदेवी सडक अलपत्र भएको छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले २०७६ साल साउन २० गते ठेक्का लगाएको सडकको काम निर्माण कम्पनीले छोडेपछि अलपत्र भएको हो ।
उत्तरी मोरङको केराबारी–२ सिंहदेवी स्थित पर्यटकीय क्षेत्र जेफालेसँग सडक सञ्जाल जोड्ने उदेश्यले ठेक्का लागेको यो सडक २५ किलोमिटर लामो छ । सम्झौता अनुसार २०७६ साल भदौ १० गते काम सुरु गरेर २०७८ भदौ ८ गते काम सम्पन्न गर्नुपर्ने थियो । कान्छाराम कन्ट्रक्सनले ठेक्का लिएको सडकको कुल लागत ७० करोड ४९ लाख २९ हजार ३५५ रुपियाँ ६२ पैसा हो । तर, पटक पटक गरी ६ पटक म्याद थप गरी पछिल्लो पटक २०८० असार ३० गते काम सक्ने सहमति भएको थियो । पछिल्लो म्यादमा पनि काम सम्पन्न नभएपछि शहरी विकास मन्त्रालयले २०८१ चैत १४ गते ठेक्का सम्झौता खारेज गरेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई दमक झापाका आयोजना प्रमुख शालिकराम देबकोटाका अनुसार यो सडक र मोरङ कै लक्ष्मीमार्ग –डाँगीहाट–बनौल– बवियाविर्ता हुँदै अमाहीबरियाति जोड्ने सडक संयुक्त रुपमा ठेक्का लागेको हो । पुर्वपश्चिम राजमार्गको बेलबारी ११ भाउन्नेबाट दक्षिण तर्फ जाने तराईको यो सडक र राजमार्ग कै सुन्दरहरैँचा ९ बाट उत्तर तर्फ जाने खोर्साने– केरावारी– सिंहदेवीको पहाडी सडक दुबै हाल अलपत्र छन् । आयोजना प्रमुख देवकोटाले भन्नुभयो – दुबै सडक संयुक्त रुपमा ठेक्का आह्वान भएकोले ‘एउटा सडकको मात्र भौतिक तथा वित्तीय प्रगति देखिन्न । ठेक्का सम्झौता खारेज हुनु अघिसम्म ५५ प्रतिशत भौतिक र ४४ दशमलव ३७ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । आयोजनाले निर्माण कम्पनीलाई ३५ करोड १६ लाख २२ हजार ६१४ रुपियाँ २९ पैसा भुक्तान गरिसकेको छ ।
खोर्साने– केरावारी– सिंहदेवी सडकमा १६ किलोमिटर सडक पुरै पहाडी क्षेत्रमा पर्छ ।केरावारी २ का वडाध्यक्ष समेत रहनु भएका सडक उपभोक्ता प्रेमबहादुर लिम्बूले भन्नुभयो–‘मदन भण्डारी राजमार्गलाई चिरेर जाने यो सडक भेडेटार–राँके –रवि सडकलाई जोड्ने रणनीतिक महत्वको सडक हो । ताप्लेजुङका मानिसहरू इलाम झापा नझरिकन एकै पटक केरावारी झरेर विराटचौक हुँदै विराटनगर पुग्न सने थिए । प्रदेशको राजधानीसँग छोेटो सडकले ताप्लेजुङ र पाँचथरका बासिन्दालाई जोड्ने यो सडकले समय र खर्च मात्र बचत गर्दैन । उत्तरी मोरङको पर्यटन बिकास र कृषि उत्पादनको ब्यापारका लागि निकै महत्व बोकेको यो सडक लथालिङ्ग हुँदा सिंहदेवी क्षेत्रका वासिन्दा निरास बन्न थालेका छन् । वडाध्यक्ष लिम्बुका अनुसार केराबारी उत्तर १३ दशमलव ६१५ किलोमिटर मात्र काम भएको छ । रामपुर देखि समेवासम्म स्तरोन्नतिको काम भएको छैन् ।
मोरङ १(२)का प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेतले सडक स्तरोन्नतिका लागि विभाग, विभागीय मन्त्रालय, प्रधानमन्त्री कार्यालय देखि संसदमा समेत पटक पटक कुरा उठाउँदा पनि सुनुवाई नभएको बताउनु भयो । उहाँले ठेक्का सम्झौता खारेज गरेर चालु आवमा यही सडक सम्पन्न गर्न २० करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई दमक झापाका आयोजना प्रमुख शालिकराम देबकोटाले समेत पुन ः ठेक्का प्रक्रियाको काम सुरु भएको र बहुवर्षीय स्रोत सहमतिका लागि मन्त्रालय पठाएको बताउनु भयो ।
उत्तरी मोरङको साविक सिंहदेवी गाविसमा पर्ने जेफाले पर्यटन विकास केन्द्रले जेफालेमा होमस्टे सञ्चालन गरेको छ । मोरङ कै सबैभन्दा ठूलो चिया बगान रहेको जेफालेमा भ्युटावर,मगर संस्कृतिका घरबास केन्द्र, सुन्तोला बगान, भुईस्याउ र अलैची ब्यावसायिक खेती हुन थालेकोे छ । सडक सञ्जाल नहुँदा केराबारी २ सिंहदेवीका बासिन्दालाई पालिकाको केन्द्र आउन धनकुटाको भेडेटार पुगेर धरान हुँदै इटहरीबाट ११ किमी पूर्व खोर्साने आएर पुन आठ किलोमिटर उत्तर जानुपर्छ । हिउँदमा साना गाडी र मोटरसाइकलहरू छोटो बाटो भन्दै अत्यन्तै जोखिम मोलेर जेफाले जाने गर्छन भने वर्षायाममा ४३ किमी घुम्नुको विकल्प छैन ।

























