हरिप्रसाद कोइराला
रमिते (मोरङ) । उत्तरी मोरङको रमितेमा पछिल्लो २ वर्षयता १८ वटा साना ठूला होटल सञ्चालनमा आएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको किसानचौकबाट २२ किमी उत्तरमा रहेको रमिते पर्यटकीय क्षेत्रमा गर्मीमा चिसो र जाडोमा पारिला घाम लाग्ने गर्छन । हिउँदमा घाम ताप्न र वर्खामा गर्मी छल्न आन्तरिक र बाह्य पर्यटक पुग्न थालेपछि रमितेमा होटलसँगै पर्यटन ब्यावसाय फस्टाएको हो । मोरङको मिक्लाजुङ–१ मा पर्ने रमितेमा कालोपत्रे सडक पुगेपछि एकपछि अर्को होटल थपिएका छन् ।
सुरुमा ६ जना मिलेर होटल टेन्ट टाउन सञ्चालनमा ल्याउनु भएकी कुमारी लिम्बूले भन्नुभयो–जाडोमा पर्यटकको चाप कम हुन्छ ।तर, होटल खालि छैनन् । गर्मी मौसममा बाहिर टेन्ट लगाएर पाहुनाहरू बस्नुहुन्छ । लिम्बूका अनुसार होटल द टेन्ट टाउन डेढ करोडको लगानीबाट सुरु गरिएको हो । हरेक महिना होटलले सेवा विस्तार गरिरहेको छ । उहाँले भन्नुभयो– ‘२१ महिना अघि होटल सुरु गर्दा भन्दा अहिले सबै कुराको गुणस्तर वृद्धि गरेका छौं । जति कमाई भयो , सबै यही लगानी भएको छ । हालसम्म होटलमा तीन करोड लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । जाडोमा १८ जना र गर्मीमा २४ जनालाई रोजगार दिइरहेको होटल सञ्चालन आएसँगै गाउँबाट बसाई सर्ने रोकिएको छ ।
अर्का होटल ब्यावसायी होटल भानुभक्त एण्ड लजका सञ्चालक भोला लुईटेलले भन्नुभयो –‘गर्मीमा कुनै होटल खाली हुँदैनन् । जाडोमा पनि हात बाँधेर बस्नु परेको छैन् । उहाँका अनुसार रमितेमा होटल पर्यटनको विकास भएसँगै कृषि र पशु उत्पादन गर्नेको सङ्ख्या बढेको छ । हरेक मानिस ब्यापार र पशुपालनका लागि तराई झर्थे , हाल यहीँ सबै उत्पादन बिक्री हुन थाल्यो । त्यसैले मानिसहरू गाउँ मै उद्यम गर्न थालेका छन् । रमितेमा सुन्तोला, अलैची, तेजपात, अदुवा,कुचोको ब्यापार फस्टाएको छ । पहिले पाँच घण्टा पैदल हिडेर टाँडी झर्नेहरू अहिले घरबाटै कृषि र पशुजन्य उत्पादन बिक्री गर्न थालेका छन् । लुइटेलले रमितेमा हाल होटल क्षेत्रमा मात्र २५÷३० करोड रुपियाँ लगानी भइसकेको बताउनु भयो ।
मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राईले भन्नुभयो –‘ दुई किमी सडक अझै कच्ची छ । यो सडक पुरै कालोपत्रे भइसकेपछि रमिते कोशी प्रदेशको नयाँ पर्यटकीय गन्तब्य बन्नेछ ।’ उहाँका अनुसार पुर्वपश्चिम राजमार्गबाट सबैभन्दा नजिकमा पुगिने पहाडी गाउँ रमिते हुनेछ । तराईमा औषत ३८÷४० डिग्री तापक्रम हुँदा रमितेमा १८÷१९ डिग्री तापक्रम हुनेगर्छ । त्यसैले मानिसहरू एक रात बस्नेगरी रमिते पुग्ने गर्छन् ।
सडक,विजुली पुगेको धेरै वर्ष भएको थियो । तर, जब होटल खुल्न थाले रमिते र आइतबारे बजार नै गुल्जार बन्न थाल्यो । स्थानीय सन्तोष राईले भन्नुभयो – थुप्रैले रोजगार पाएका छन् । ब्यापार बढेको छ । गाडीको आवत जावत बढेको छ । निगुरो,स्कुस, आलु , फलफूल बेच्न तराई झर्नु परेको छैन् । औषत नेपालीले बुझेको मोरङ जिल्ला भनेको धान फल्ने फाँटिला खेत, साल फूल्ने बन हो । तर, रमितेमा गुराँस फुल्छ । बाह्रैमास चिसो हुन्छ । त्यसैले रमिते अहिले नयाँ पर्यटकीय गन्तब्य बनिरहेको छ ।

























