Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । तिनै तहका सरकारबाट आवश्यकता अनुसार बजेट नजुटेपछि मोरङको बेलबारी ८ मा निर्माण भइरहेको मदन भण्डारी स्मृति कवर्डहलको निर्माण कार्य रोकिएको छ । २करोड रुपियाँको अनुमानित लागतमा स्थानीय एम्ब्रियो युवा क्लवले निर्माण सुरु गरेको कभर्डहलमा हाल सम्म ८८ लाख रुपियाँ खर्च भइसकेको छ । कवर्डहलको निर्धारित उचाई नपुगेपछि अहिले सो हललाई बहुदेश्यीय सामूदायिक भवनका रुपमा निर्माण गर्न थालिएको छ ।
बेलबारी नगरपालिकाले ६ लाख रुपियाँ सहयोग गरेपछि २०७५ चैत ४ गते तत्कालिन नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले कवर्डहलको शिलान्यास गर्नु भएको थियो । त्यसपछि मोरङ क्षेत्र नं. ३ का तत्कालिन सांसद भानुभक्त ढकालले सांसद बिकास कोषबाट ५२ लाख रुपियाँ विनियोजन गरिदिनु भयो । २ करोडको आयोजनालाई बजेटको पर्याप्तता भएन । त्यसैले काम गर्न अप्ठ्यारो भयो – क्लबका अध्यक्ष नारायण लिङ्थेपले भन्नुभयो । अध्यक्ष लिङ्थेपले योजना अलि महत्वकांक्षी भएको बताउँदै ग्रामीण क्षेत्रमा निर्माणाधीन आयोजनाका लागि बजेट जुटाउन नै चुनौति भएको उल्लेख गर्नभयो । कोशी प्रदेश सरकारले २० लाख रुपियाँ उपलब्ध गरायो । झण्डै १० लाखको श्रमदान गरेका छौं तर , पनि बजेट अझै अपुग भएको छ । यो हल बनिसकेपछि कोशी प्रदेशको ध्यान खिच्ने हाम्रो सपना थियो । प्राविधिकले कवर्ड हलको उचाई कम भएको रिपोर्ट दिए । १८० फिट लम्बाई र ७० फिट चौडाई भित्र निर्माण भएको हलको उचाई मापदण्ड अनुसार नभएपछि यो हललाई मदन भण्डारी स्मृति वहुउदेश्यीय सभाहल बनाउने गरी तयारी थालिएको छ । अध्यक्ष लिंङ्थेपले भन्नुभयो –कवर्डहलमा भलिवल र ब्याडमिन्टन बाहेक सबै प्रकारका ‘ इन डोर’ खेल खेल्न र प्रशिक्षण गराउन सकिने अवस्था छ ।
हालसम्म उपलब्ध रकमले कवर्डहलको छानो लगाउने र वरिपरि ईटाको वेरा लगाएर झ्याल र ढोका लगाउने काम सम्पन्न भएको छ । सरकारी निकायले सहयोगको बचन दिएपनि बजेट थोरै थोरै आउने भएकोले काम सम्पन्न गर्न सकिएको छैन्। उपभोक्ता समितिका अध्यक्ष समेत रहनु भएका क्लबका अध्यक्ष नारायण लिङ्थेपले भन्नुभयो –कवर्डहल नहुने भयो , अब ५० लाख रुपियाँ भए जिल्ला कै नमुना बहुउदेश्यीय सभाहल बन्ने थियो । सिंहदेवी एकेडेमीका प्रिन्सिपल हेमबहादुर श्रेष्ठले भन्नुभयो – खर्च जुटाउन नै समस्या छ । वारम्वार सरकार फेरिरहने , मन्त्री फेरिरहने भएकोले पनि समस्या भइरहेको छ । कवर्डहललाई बहुदेश्यीय बनाउने योजना रहेकोले निर्माण सम्पन्न कहिले हुन्छ एकिन गर्न नसकिने उहाँको भनाई छ । खेल खेल्ने मात्र होइन , सामाजिक काम गर्न पनि सकिने खालको हल बन्नेछ , –श्रेष्ठले भन्नुभयो ।
बेलबारी –८ को सिंहदेबी सामूदायिक वनले संरक्षण गरेको जग्गामा हल निर्माण भइरहेको छ । तर , क्लवका अध्यक्ष नारायण लिङ्थेप भन्नुहुन्छ –सामूदायिक बन दर्ता हुनु भन्दा १५ वर्ष अघि देखि सो मैदानमा क्लवले खेल गतिविधि गर्दै मैदानको संरक्षण गर्दै आएको थियो ।



Share via
Send this to a friend