पथरीशनिश्चरे । माेरङको जाँते – पथरी सडकखण्डमा रहेका सालका रुख नहटाइ कालोपत्रे गर्दा ति रुखहरू नै काल बनिरहेका छन् । आइतबार दिउँसो रुखमा ठोक्किएर मोटरसाइकलमा सवार लेटाङ–८ का २५ वर्षीय दीपेश राईको मृत्यु भयो ।
प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकलमा चढेर पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गर्नु भएका राईको मोटरसाइकल आफैं अनियन्त्रित रुखमा ठोक्किएको थियो । सालको रुखमा ठोक्किएपछि गम्भीर घाइते हुनु भएका दीपेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा साँझ ६ बजे दीपेशको मृत्युु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 
मोटसाइकलको पछाडि सवार दीपेशकी पत्नी २१ वर्षीया ललिता राई (मगर) गम्भीर घाइते हुनु भएको छ । मदन भण्डारी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।
आइतबार नै मदन भण्डारी राजमार्ग अन्तरगत मोरङको केराबारी सडक खण्डको केराबारी ५ बगैंचा चोकमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोका चालक केरावारी ६ का ४६ वर्षीय मेखवहादुर मगर हुनुहुन्छ । मगरले चलाएको टेम्पो धरानको पानबारीबाट केराबारी तर्फ आउँदै गरेको बा.१ च २९२८ नम्बरको कुखुराको चल्ला बोक्ने पिकअप गाडीसँग ठोक्किएको थियो । पिकअप र टेम्पो जुद्धा शक्त घाइते हुनु भएका टेम्पो चालक मगरको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । टेम्पोमा सवार एकै परिवारका ४ जना घाइते हुनु भएको छ । घाइते हुनेहरूमा केराबारी ६ कि ६० वर्षिया हरिमाया मगर, उहाँकि ३० वर्षिया छोरी सीतामाया मगर, १० वर्षिया नातिनी प्रशना मगर र ७ वर्षीय नाति इदिल मगर हुनुहुन्छ । घाइते सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । पिकअप भ्यानका चालक मोरङको बुढीगङ्गा – २ का २७ वर्षीय शिवकुमार ऋसिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

























