Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका अगुवा महिलाहरूले सरकारी तथा नीजि विद्यालयहरूमा बालिका र शिक्षिका मैत्री पठनपाठन हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार पथरीशनिश्चरे महिला फेडरेसनले आयोजना गरेको बालिका मैत्री पठनपाठन बहुपक्षीय सवाल विषयक छलफल कार्यक्रममा अगुवा महिलाहरूले विद्यालय तहबाटै महिला हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । जिल्ला समन्वय समिति मोरङका उप प्रमुख उषा झाले विद्यालयहरू बालिका मैत्री भए मात्र हामीले सोचे अनुसारको परिणाम प्राप्त हुने बताउनु भयो । झाले सबै माध्यमिक विद्यालयले बालिकालाई आवश्यक पर्ने सेनेटरीप्याड, नर्सिङ सेवा र चेन्जिङ रुमको ब्यवस्था गर्नुपर्र्ने बताउनु भयो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालिका मैत्री विद्यालय बनाउने विषयमा नगर सबैखाले सहयाेग गर्न तयार रहेकाे बताउनु भयाे ।
अधिवक्ता शोभा बजगाईले प्रहरीमा दर्ता हुने उजुरी मध्ये ८० प्रतिशत उजुरी महिलासँग जोडिएका हुने गरेको बताउनु भयो । बजगाईले बालिकालाई प्राथमिक तह देखि नै नेतृत्व विकासमा सहभागि गराउन कक्षाको ‘मनिटर’ देखि बाल क्लबको अध्यक्ष सम्म बनाएर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । अधिकांश विद्यालयमा गठन भएका बाल क्लबको नेतृत्व पुरुषले गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै बालिकाले आफ्नो अधिकारका विषयमा जानकारी नपाउँदा हिंसामा पर्ने गरेको उल्लेख गर्नुभयो । ७८ दशमलव ५४ प्रतिशत घटना चिनजान र आफन्तबाटै भइरहेको बताउँदै बजगाईले परिवार र आफन्त बालिकाका आधारभुत विषयमा जानकार भए हिंसाका घटना आफै न्यूनीकरण हुँदै जाने औंल्याउनु भयो ।
पथरीशनिश्चरे महिला फेडरेसनका अध्यक्ष गोमा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पथरीशनिश्चरे –४ को भगिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जाङले नगरमा बालिको शैक्ष्ँिक अवस्था सम्बन्धी रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । विद्यालय ब्यवस्थापन समिति महासङ्घ पथरीशनिश्चरेको सहकार्यमा भएको कार्यक्रममा महासङ्घका नगर अध्यक्ष युवराज बास्कोटाको समेत उपस्थिति थियो । पथरी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा पथरीशनिश्चरेका महिला शिक्षिका, छात्राहरू र आमाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सय बढीको सहभागिता थियो ।



Share via
Send this to a friend