हरिप्रसाद कोइराला ,
मोरङ । मोरङको लेटाङ–५ स्थित टुक्रे वन क्षेत्र भित्रको २ विगाहा पर्ती जमीनमा २०७८ सालको पुस १० गते लेटाङ आधारभुत अस्पतालको शिलान्यास भयो । संघीय सरकारको ससर्त अनुदानबाट प्राप्त ९ करोड ९९ लाख ३६ हजार ९३१ रुपियाँ लागतमा निर्माण हुने गरी तत्कालिन सङ्घीय सांसद घनश्याम खतिवडा र लेटाङ नगरपालिकाका तत्कालिन नगर प्रमुख शङ्कर राईले ठूलो तामझामका साथ शिलान्यास गर्नुभयो । सरकारसँग २०७८ साउनमा ठेक्का सम्झौता भए पनि रकम निकासा नभएकोले ढिलो गरी शिलान्यास भएको थियो । दश शैयाको अस्पतालसँगै क्यान्टिन,वेष्ट मेनेजमेन्ट,पोष्टमार्टम घर,सुरक्षा घर लगायत ५ वटा भवन निर्माण गरिने योजना थियो । २०७९ सालको फागुन मसान्त सम्ममा अस्पताल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको अस्पताल २०८१ को साउन सकिन लाग्दा पनि निर्माण सम्पन्न भएको छैन ।
नगरका प्रवक्ता समेत रहनु भएका भुमबहादुर सूर्यमगरले भन्नुभयो – निर्माण कम्पनी प्रेररा एम कन्ट्रक्सन जेभीले काम नगरिदिएकोले काम समयमा सकिएको छैन । उता कानेपोखरी अस्पतालको निर्माण कार्य २०७९ सालको भदौ ३१ गते सम्पन्न हुनुपर्ने थियो । तर,जग्गामा बिबाद भएपछि निर्माणाधीन कानेपोखरी अस्पतालको निर्माण कार्य झण्डै वर्ष दिन रोकिएर हाल पुन निर्माण भइरहेको छ । अस्पताल भवनकोे डिपीआर भएको क्षेत्रफल ब्यक्तिको नाममा देखिएपछि अस्पतालको निर्माण कार्य रोकिएको थियो ।
डिपीआर गरिएको क्षेत्रफल १७ सय वर्गमिटर भनिएको छ । जसमध्ये २४१ वर्गमिटर जमीन अस्पतालको स्वामित्व भन्दा बाहिरको देखिएपछि अस्पताल निर्माण कार्य रोकिएको हो अस्पताल विकास समितिका सदस्य उमेश पौडेलले भन्नुभयो – समस्याको समाधान भइसकेको छ । अहिले धमाधम काम भइरहेको छ । अस्पताल निर्माणको ठेक्का ८ करोड ५० लाख रुपियाँमा काठमाडौंको प्रतिष्ठा के एन केडी जेभिले पाएको थियो । निर्माण कम्पनीका सञ्चालक अशोकभक्त श्रेष्ठले भन्नुभयो– हामीले गाउँबेसी कन्ट्रक्सनलाई काम गर्ने जिम्मा दिएका थियौं । गाउँबेशीले हामीलाई धोका दियो । अहिले हामी नै काम गरिरहेका छौं । उता सुन्दरहरैँचा – ११ कर्जुनामा तत्कालिन संकृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले ठूलो तामझामका साथ प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको भब्य समारोहका साथ शिलान्यास गर्नुभयो ।
तत्कालिन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एक वटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालिन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नु भएको थियो । टेकु अस्पतालका ३ सय वेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याव सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले भन्नुभयो – अस्पतालको शिलान्यास गर्ने भनेपछि पाक्न लागेको तोरी काटेर ठाउँ खाली गरिदिएको थिएँ । तर, त्यसपछि १२ बाली लगाएर उत्पादन लिइसकें । तर, न त ठेक्दार आए । न बीपी प्रतिष्ठान र प्रदेश सरकारका प्रतिनिधि आए । उहाँले अस्पताल शिलान्यास भएपछि वर्षौं देखि बिक्री नभएको शिलान्यास भएको छेउछाउको जग्गा प्लटिङवालाहरूले बिक्री गरेको बताउनु भयो । जसले अस्पताल बन्ने सम्भावना देखेर घडेरी किनेका थिए । उनीहरू अहिले पछुताई रहेका छन् ।
अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा वर्षौं देखि सुकुम्बासी बनेर बसिरहेका परिवार पनि खुसी थिए । उनीहरूलाई मन्त्री ढकाल ,वीपी प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी लगायतले अन्यत्र घरवासको ब्यवस्था मिलाउने आश्वासन दिनु भएको थियो । तर, न अस्पताल बन्यो, न अन्यत्र घरवासको टुङ्गो लाग्यो ।
अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ८ करोड रुपियाँ विनियोजन भएको बताइएको थियो । अस्पताल २५ करोड रुपियाँमा बन्ने भनिएको थियो ।
मोरङको केरावारी गाउँपालिकाको केरावारी बजारमा २०७८ साल असार २२ गते केरावारी अस्पतालको धुमधामका साथ शिलान्यास भयो । स्रोत सुनिश्चितताका साथ निर्माण सुरु भएको अस्पताल २०८०को असार २२ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, २०८१ को असार साउन सकिन लाग्दा पनि अस्पताल निर्माण सम्पन्न भएको छैन् । स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईका अनुसार दैनिक १५० देखि २ सय सम्म विरामी उपचारका लागि अस्पताल पुग्ने गर्छन् । तर, अस्पताल नबन्दा साँघुरो भवनमा बिरामीको उपचार गर्नु परिरहेको छ । केरावारीमा १५ शैयाको अस्पताल भवन बनिरहेको छ । तर, सरकारले बजेटको सुनिश्चितता नगर्दा अस्पताल भवन आफै विरामी परेको छ । अहिले निर्माणधीन अस्पतालको जग उठाएर काम रोकिएको छ ।

























