
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमको बीमा भुक्तानी नेपाल सरकारले नगरे महानगरपालिकाले आफैँ जिम्मेवारी लिएर रकम तिर्ने प्रतिबद्धता जनाएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बीमाको रकम नआउँदा अस्पतालको सेवा प्रवाहमा समस्या परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
मेयर महर्जनले भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको आलोचना र जिम्मेवारी आफूले नै वहन गर्नुपर्ने उल्लेख गरे। उनले नेपाल सरकारले औपचारिक रूपमा पत्रमार्फत अनुमति दिए वा भुक्तानीको दायित्व महानगरलाई सुम्पेमा महानगरपालिकाले तत्कालै उक्त रकम तिर्न तयार रहेको स्पष्ट पारे।
उनले पाटन अस्पतालकै प्राविधिक सुझाव र सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र निर्माण भइरहेको र त्यो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी पनि दिए। उक्त केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले अझ गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।
मेयर महर्जनका अनुसार ललितपुर महानगर र पाटन अस्पतालबीचको सहकार्य देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बनेको छ। उनले सरकारलाई पाटन अस्पतालको भुक्तानी समयमै उपलब्ध गराउन आग्रह गर्दै, आवश्यक परे महानगरपालिकाले नै जिम्मेवारी लिने दृढता पुनः दोहोर्याए।

























