कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित सुनकोशी बचत तथा ऋण सहकारी संस्था लि.ले छिमेकी आदर्श बचत तथा ऋण सहकारी संस्था संस्था लि.सँग एकीकरण गर्ने निर्णय गरेको छ ।
शनिवार आदर्शटोलमा भएको २५ औं वार्षिक साधारणसभाले संस्था एकीकरण गर्ने निर्णय गरेको हो । सुनकोशी र आदर्श बचत समन उदेश्यका ५ सय मिटर नजिकका सहकारी संस्था हुन् ।
साधारणसभाको उद्घाटन गर्दै मोरङ ३ (१) का कोशी प्रदेश सभा सदस्य मानबहादुर लिम्बूले सहकारी संस्थाले शेयर सदस्यको आर्थिक समृद्धि र उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । लिम्बूले सहकारी संस्थाको आदर्श र सिद्धान्तमा कतै पनि सदस्यलाई कमजोर बनाउने र सञ्चालक ब्यवस्थापक मोटाउने उल्लेख नभएको बताउँदै सिद्धान्त र आदर्श पछ्याउने सहकारी बिग्रिने कल्पना गर्न नसकिने बताउनु भयो ।
कानेपोखरी –६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले सहकारी संस्थाहरू बिग्रिने रोग कानेपोखरीमा पनि अप्रत्यक्ष रुपमा प्रवेश गरेको बताउँदै त्यस तर्फ सजक रहन ब्यवस्थापन र सञ्चालकलाई आग्रह गर्नुभयो । बस्नेतले दैनिक जसो कहिले सहकारीले र कहिले ब्यक्तिले ऋण असुलका लागि सहजीकरण गरिदिनु भन्ने प्रकृतिका उजुरी , निवेदन वडा कार्यालयमा आइरहेको बताउँदै समस्या कति बेला हुन्ने निश्चित नभएको उल्लेख गर्नुभयो । जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. मोरङका सञ्चालक सदस्य हरिप्रसाद कोइरालाले संस्थाका केही सूचाङ्क सुधार गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो –बाह्य ऋण ५ प्रतिशत भन्दा बढी हुँदा समस्या हुनसक्छ । बाह्य ऋणको साँवा ब्याज नियमित तिर्नै पर्छ । लगानी भएको ऋण शेयर सदस्यले तिर्न नसकेर भाखा नाघ्यो भने संस्थाले सदस्यलाई बचत फिर्ता गर्न नसक्ने अवस्था आउन सक्छ । उहाँले तरलता ब्यवस्थापन र बाह्य ऋण प्रति सचेत रहन आग्रह गर्नुभयो ।
साधारणसभामा प्रमुख अतिथि सांसद मानबहादुर लिम्बू , वडाध्यक्ष खड्गबहादुर बस्नेत , जिल्ला बचत सङ्घका सञ्चालक हरिप्रसाद कोइराला , रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयल लगायतले उत्कृष्ठ शेयर कारोवार गर्ने राधादेवी भट्टराई र डिल्लीप्रसाद सिटौला,नियमित बचत कारोवार गर्ने देवीकुमारी श्रेष्ठ र युवराज ढुङ्गाना, उत्कृष्ठ ऋण कारोवार गर्ने जुना देवी लिम्बू र देवीबहादुर कार्की,उत्कृष्ठ ऐच्छिक बचत कर्ता कृष्णबहादुर कार्की, उत्कृष्ठ दैनिक बचतकर्ता खडानन्द घिमिरेलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
यस्तै पूर्व सञ्चालक विष्णुकुमार रोक्का, सदस्य सम्मान तर्फ देवराज लुइटेल,बलभद्र घिमिरे,बिना आचार्य,तेजबहादुर दाहाल र कमला कार्की सम्मानित हुनुभयो । संस्थाले संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्ने आँचल भट्टराई र रुस्तम श्रेष्ठलाई नगद १ हजार सहित प्रमाणपत्रले सम्मान गरेको छ । दुबै जना विद्यार्थी शेयर सदस्यका छोराछोरी हुन् ।
साधारणसभामा संस्थाका अध्यक्ष देवेन्द्र थापाले आर्थिक वर्ष २०८०।०८१ को प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभयो । यस्तै संस्थाका कोषाध्यक्ष हरिप्रसाद मैनालीले गत वर्षको यथार्थ आम्दानी खर्च ३ करोड ९८ लाख ८४ हजार ४४ रुपियाँको आम्दानी खर्च र आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४ करोड ८३ लाख ९७ हजार ७८६ रुपियाँको अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो ।
लेखा सुपरीवेक्षण समितिका सदस्य मानबहादुर पोख्रेलले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष विना आचार्यले स्वागत भाषण गर्नु भएको थिया भने सञ्चालक सदस्य अञ्जुला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
६८६ जना शेयर सदस्य रहेको सुनकोशी साकोसको ५८ लाख ५२ हजार ७ सय रुपियाँ शेयर रहेको छ । यस्तै २ करोड ६४ लाख ९४ हजार ९७१ रुपियाँ बचत रहेको साकोसको कोषमा ४० लाख ९० हजार ६४६ रुपियाँ रहेको छ । संस्थाले ३४ लाख ९ हजार ७६ रुपियाँ बाह्य ऋण लिएको छ भने ३ करोड ४२ लाख ६२ हजार ७७४ रुपियाँ ऋण लगानी गरेको छ । गत आवको आर्थिक कारोवारबाट संस्थाले १० लाख ५४ हजार ९८ रुपियाँ शुद्ध बचत गरेको छ ।

























