Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं ।
उज्यालो नेपाल पार्टीका नेता महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश गरिएकोप्रति औपचारिक असहमति जनाउनुभएको छ। रास्वपाले बुझाएको सूचीमा उहाँको नाम आदिवासी जनजाति पुरुष क्लस्टरअन्तर्गत १२औँ नम्बरमा राखिएको छ।
नेपाल प्रेससँग कुरा गर्दै लावतीले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएको विषयमा आफूहरूलाई औपचारिक रूपमा जानकारी नदिइएको बताउनुभयो। उहाँले भन्नुभयो, “एकता भएको कुरा हामीले समाचारमार्फत मात्रै थाहा पायौँ। पार्टीका तर्फबाट कुनै छलफल वा परामर्श भएको थिएन।”

 


उहाँका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले एकता र आगामी चुनावी एजेन्डाबारे आफूहरूलाई स्पष्ट जानकारी नदिनु भएकोप्रति गुनासो छ।
लावतीले गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संघीयता र समानुपातिक प्रतिनिधित्व उज्यालो नेपाल पार्टीको ‘बटमलाइन’ भएको स्पष्ट पार्नुभयो। तर, रवि लामिछाने र बालेन शाहबीच सार्वजनिक गरिएको सात बुँदे सहमतिमा यी आधारभूत विषयहरू उल्लेख नभएकाले आफूहरू सन्तुष्ट नभएको उहाँको भनाइ छ।
“यी विषयमा पार्टीले स्पष्ट धारणा सार्वजनिक नगरेसम्म हामी रास्वपासँग अगाडि बढ्दैनौँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार कुलमान घिसिङले चुनावी घोषणा पत्रमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिकताका विषय समेटिने आश्वासन दिनुभएको छ। तर ती विषयहरू कसरी र कति स्पष्ट रूपमा समेटिन्छन् भन्नेमा आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको उहाँले बताउनुभयो।
यसैबीच, लावतीमाथि पहिचान आन्दोलनसँग जोडिएका केही समूहबाट आलोचना पनि सुरु भएको छ। प्रदेश नामकरणपछि चलेको पहिचान आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको मुद्दा छाडेर समानुपातिक उम्मेदवारी स्वीकार गरेको आरोप सामाजिक सञ्जालमा उठिरहेको छ। तर लावतीले आफूले पहिचानको मुद्दा परित्याग नगरेको र मूलभूत संवैधानिक मूल्यहरू सुनिश्चित नभएसम्म कुनै पनि राजनीतिक सहकार्यमा नजाने अडानमा रहेको स्पष्ट पार्नुभयो।
स्मरण रहाेस, महेन्द्र लावती प्रख्यात राजनीतिशास्त्री पद्मसुन्दर लावतीका छोरा हुनुहुन्छ। वर्तमान विवादले उज्यालो नेपाल पार्टीभित्र मात्र होइन, वैकल्पिक राजनीतिक शक्तिहरूबीचको एकता प्रक्रियामै थप प्रश्न र बहस जन्माएको छ।



Share via
Send this to a friend