Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङे । मोरङको लेटाङ नगरपालिकाले निर्माण सुरु गरेको अन्तर धार्मिक शान्ति पार्कको जग बसेको छ । पाँचधर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्मका विभेद अन्त्य गर्ने अवधारणका साथ निर्माण सुरु भएको शान्तिपार्क नगरको गौरवको आयोजना हो ।
लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा १ करोड रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमबाट शान्तिपार्कको जग निर्माण भएको छ। नगरको वडा नं.१ राजारानीमा निर्माण भइरहेको यो पार्कमा संसारभर मानिने प्रमुख धर्मका गुरूहरूलाई एउटै स्थानमा बसेर अन्तर धर्मका विषयमा छलफल र बहस गर्ने वातावरण जुटाउने छ ।तत्कालिन लेटाङभोगटनी नगरपालिका हुँदा एक नगरपालिका एक पहिचान कार्यक्रम अन्तर्गत २०७२ मा ऐतिहासिक राजारानी पोखरी परिसरमा अन्तर धार्मिक शान्तिपार्क निर्माण गर्ने कार्यक्रम तय भएको थियो ।तर, बजेटको अभावमा शान्तिपार्क निर्माणको काम अघि बढ्न सकेको थिएन । नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार नगरपालिकाले ६ करोड ८ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो । सङ्घीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा अन्तरधार्मिक शान्तिपार्क निर्माण सुरु भएको नगरप्रमुख लावतीको भनाई छ ।
शान्तिपार्कका लागि ६ कट्ठा जग्गा छुट्याइएको छ । ५ करोड २९ लाख रुपियाँमा फुलमन डिप्लोपर्स प्रालिले ठेक्का लिएको शान्तिपार्क निर्माणको काम ३ वर्ष भित्र सम्पन्न गर्ने गरी भइरहेको वडा नं.१ का वडाध्यक्ष विष्णुबहादुर मगरले बताउनु भयो ।


हिन्दू,बौद्ध,मुस्लिम,किरात र इसाई धर्मका धर्मगुरुहरू एउटै मञ्चमा बसेर अन्तरधर्मका विषयमा बहस गर्न सकनु भन्ने प्रमुख उदेश्यले शान्तिपार्क निर्माण गर्न लागिएको सामूदायिक विकास मञ्च नेपाल (सीडीएफ)का अध्यक्ष रामचन्द्र बुढाथोकीले बताउनु भयो । अन्तरधार्मिक शान्तिपार्कको ‘मिनियचर’(नमूना)माथि सबैधर्मका गुरूहरूको साझा धारणा निर्माण भएपछि शान्तिपार्क निर्माणको अवधारणा आएको सीडीएफ नेपालका तत्कालिन निर्देशक एवम् हालका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको भनाई छ । मिनियचरका कल्पनाकार कलाकार बिक्रमश्रिले शान्तिपार्क सबै धर्मावलम्वीहरुको साझा धरोहर बन्ने उल्लेख गर्दै पार्क बनिसकेपछि लेटाङ नेपाल कै धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने बताउनु भयो । हालको मन्दिर डाँडामा निर्माण गरिने शान्तिपार्कको भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिने उहाँको भनाई छ । उहाँका अनुशार पार्कमा पाँच धर्मका पाँचद्वार राखिनेछ । चार तले उक्त पार्कमा हरेक धर्मले आफ्नो द्वारबाट प्रवेश गरेपछि आफ्ना धर्म ग्रन्थ,सांस्कृतिक पहिचान खुल्ने सामग्री र धर्मका हांगा विंगाको झलक हेर्न पाउने छन् । सबैभन्दा माथिल्लो तलाबाट बरिपरि घुमेर दृष्यावलोकन गर्न सकिने छ ।
संसारभर धर्मका नाममा लडाई चलिरहेको बेला लेटाङले निर्माण गरिरहेको अन्तरधार्मिक शान्तिपार्कले सबै धर्मावलम्वीहरूलाई एकै स्थानमा जोड्ने र विभेदको अन्त्य हुने स्थानीयले अपेक्षा गरेका छन् ।



Share via
Send this to a friend