Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी ।कोशी प्रदेशका भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले नीजि अस्पतालहरूले कृत्रिम विवरण बनाएर अस्पताल नवीकरण गर्न कागजात पेश गर्ने तर, असाहय,अपाङ्गता भएका ,सडकमानव र विपन्न वर्गका विरामीहरूको विवरण बुझाउन नसकेको बताउनु भएको छ । अस्पताल दर्ता ऐनले तोकेको मापदण्डअनुसार अस्पतालको वेड सङ्ख्याका आधारमा निश्चित प्रतिशत विपन्न वर्गका विरामीको उपचार गर्नुपर्छ ।तर, कुनै पनि नीजि अस्पतालले मापदण्ड अनुसार विपन्न वर्गको निशुल्क उपचार नगरेको उल्लेख गर्दै मन्त्री राईले स्वास्थ्य मन्त्रालयको निर्देशन नमाने अस्पतालको इजाजतपत्र खारेज गर्ने चेतावनी दिनुभयो ।
मन्त्री राईले सोमबार मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सीटी स्क्यान सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । स्वास्थ्य मन्त्री राईले गणतन्त्रको लाभांश निम्न वर्गमा नपुगे बताउनु भयो । उहाँले गणतन्त्रको सपना निशुल्क उपचार र आधारभुत शिक्षा थियो ।तर, सपना अनुसार काम नभएको बताउँदै मन्त्री राईले स्वास्थ्य मन्त्रालयमा आफु आएपछि ब्सपना पुरा गर्ने गरी काम गरिरहेको बताउनुभयो । बिगतमा अघिल्लो आवको खर्चले पछिल्लो आवको असार १५ पछि ओैषधि खरिद हुने गरेको सुनाउँदै मन्त्री राईले यो परिपाटी अन्त्य भएको बताउनुभयो । उहाँले अस्पतालका कर्मचारी र चिकित्सकको दरबन्दी ब्यवस्थापनका लागि ओएनएमको सर्वे अन्तिम चरणमा रहेको जानकारी गराउनु भयो । दश वर्ष मुनिका बालबालिकाको निशुल्क उपचारका लागि दमकको एउटा अस्पतालसँग समन्वय भएको उहाँको भनाई थियो । गणतान्त्रिक ब्यवस्थामा नागरिकले स्वास्थ्य सेवा नपाए अरु कुनै पनि ब्यवस्थाले पुरा नगर्ने उल्लेख गर्दै मन्त्री राईले स्वास्थ्य बीमा,गाउँ गाउँमा अस्पताल निर्माण गणतन्त्र कै उपलब्धि भएको बताउनुभयो ।

कोशी प्रदेशका सांसद उमाकान्त गौतमले राजमार्गसँगै जोडिएको ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु हुँदा विराटनगर बाहिरका सेवाग्राही लाभान्वित हुने बताउनुभयो ।उहाँले १५ वेडको अस्पतालकै जनशक्तिले ५० वेडको अस्पताल सञ्चालन गर्न समस्या भइरहेको बताउँदै प्रदेशसरकारले अस्पतालको दरबन्दी सुनिश्चित गर्नुपर्ने बताउनुभयो । सधैं इन्ट्रनसिपका डाक्टरका भरमा अस्पताल चलाउन नसकिने सांसद गौतमले उल्लेख गर्नुभयो । विगतमा नगर अस्पताल छँदा नियुक्त भएका १३ जना कर्मचारीलाई तलव दिन समस्या भइरहेको सांसद गौतमको भनाई थियोे ।प्रदेशले मेरा कर्मचारी होइन भन्ने नगरपालिकाले पारिश्रमिक पठाउँदा महालेखाले बेरुजु लेख्ने गरेकोले समस्या भएको बताउँदै गौतमले ति कर्मचारी कसका हुन मन्त्रालयले निश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशका सांसद शोभा चेम्जोङले लगातार अस्पतालका भवन बनिरहेका छन् ।तर,जनशक्ति बढाउन सरकारले बेवास्ता गरिएको छ। उहाँले ओएनएम सर्वे गरेर तुरुन्त दरवन्दी बढाउन आग्रह गर्नुभयो । करारमा रहेका कर्मचारीलाई प्रक्रिया पु¥याएर स्थायी नगराए सधैं स्वास्थ्य क्षेत्रमा जनशक्ति नयाँ हुने सांसद चेम्जोङले बताउनुभयो ।सांसद चेम्जोङले ६ महिना काम गरेर सिकेको जनशक्ति नयाँ अवसर पाए छोडेर जाने गरेकोले जहिल्यै कर्मचारी, चिकित्सक नियुक्तिको सुचना निकाल्नु परिरहेको उल्लेख गर्नुभयो ।
कोशी प्रदेशका सांसद विद्यादेवी चाम्लिङले अस्पताल परिसर साँघुरो भएको बताउनु भयो ।


उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले १० वर्ष मुनिका बालबालिकाको निशुल्क उपचार गर्ने सरकारी घोषणा कार्यन्वयन नभएको बताउनुभयो ।उहाँले स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया जटिल हुँदा अस्पताल सञ्चालनमा समस्या भइरहेको गर्दै भन्नुभयो – अस्पतालमा पुर्वाधारसँगै उपकरण र जनशक्ति बढाउनेमा प्रदेश सरकारले गम्भीर हुनुपर्छ ।

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले विभिन्न प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा गत आर्थिक वर्षमा १ लाख १० हजार ८७८ जना विरामीले बहिरङ्ग सेवा लिएको बताउनु भयो ।जसमध्ये ९७ हजार ५४२ विरामी स्वास्थ्य बीमासँग जोडिएका थिए ।अस्पतालले गत वर्ष १ हजार ६७६ जना विरामीको शल्यक्रिया गरेको थियो । राजमार्गसँगै जोडिएको अस्पतालको आकस्मिक कक्षमा ७ हजार ८९ जना बिरामी भर्ना भएका थिए ।


२०४९ साल चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताललाई २०७२ सालमा १५ शैयामा स्तरोन्नति गरिएको थियो । २०७४ मा स्थानीय तहलाई जिम्मा लगाइएको यो अस्पताल २०७७ साउनमा कोशी प्रदेशले सञ्चालन गर्नेगरी ५० शैयामा विस्तार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रुपमा सञ्चालन हुँदै आएको छ ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका संयोजक अजम्वर राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।



Share via
Send this to a friend