विराटनगर महानगर कोेशी प्रदेशको एकमात्र महानगरपालिका हो । प्रदेशको राजधानी समेत रहेको यो महानगर नेपालको राजनीतिमा धेरै जना प्रधानमन्त्री जन्माउने राजनीतिक शहरका रुपमा पनि चिनिन्छ । २०७९ को स्थानीय तह निर्वाचनमा नागेश कोइराला महानगरको प्रमुखमा निर्वाचित हुनु भयो । मोरङ काङ्ग्रेसको उप सभापति समेत रहनु भएका कोइराला निर्वाचित भएर आएपछि भएका विकास निर्माण गतिविधि विषयमा भएको कुराकानीको सारसंक्षेप ।
० निर्वाचित भएर आउनु भएको अढाई वर्ष बितिसकेको छ । यो बिचमा महानगरमा भएका पूर्वाधारका कामहरू के के हुन् ?
प्छिल्लो अढाई वर्षमा ३५ किलोमिटर सडक कालोपत्रे भएको छ । ४६ किलोमिटर सडकमा ग्राभेल र ४८ किलोमिटर नाला निर्माण भयो । १८३ वटा कल्भर्ट बने ।६४ किलोमिटर आरसीसी सडक ढलान र ९२ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको छ । वडा नं. १ मा बालउद्यानको निर्माण तीव्र रुपमा निर्माण भइरहेको छ । विराटनगरको वीरेन्द्रसभा गृहलाई जीर्णोद्वार गरिसकेका छौं । वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि विएफएम हुँदै केशलिया रोडसम्म नाला, कल्भर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ ।
० चालु अवस्थामा रहेका पूर्वाधार र सडकका कामहरू बताइ दिनुन ?
हामीले महानगरको आफ्नै भवनको निर्माण ५० प्रतिशत निर्माण सम्पन्न गरेका छौं । पुष्पलाल चौक सडक १ करोड ३२ लाख रुपियाँको लागतमा जीर्णाेद्वार भइरहेको छ । हालसम्म यसको ८० प्रतिशत काम सम्पन्न भएको छ ।विराटनगर–२ स्थित त्रिभुजमार्गको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।यो पनि महानगरको ठूलो आयोजना हो । यस्तै डुबान नियन्त्रण गर्ने अभियानअन्तर्गत वडा नम्बर ३ मा ४ करोड रुपियाँको लागतमा प्रतीक मार्ग, मानगढ मार्ग, आस्थामार्ग, फिफा मार्ग, मितेरी मार्ग, त्रिमार्गमा कभरसहित आरसीसी नाला, रिटेरिङवाल तथा कालोपत्रे निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ । यो काम यही आर्थिक वर्षमा सम्पन्न हुने गरी भइरहेको छ । राजवंशी चोक पश्चिम वडा नम्बर ४ को पुलचोकदेखि नोवेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी–विराटनगर सडक अन्तर्गत पूर्वाञ्चल बालआश्रम दक्षिणसम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ । ३ करोड ८२ लाख रुपियाँमा निर्माणधीन यो सडक पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । वडा नं.१३ को विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको छ । अब स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ ।
० महानगरका ठूला बहुवर्षीय आयोजनाहरू पनि होलान , तिनीहरूको भौतिक प्रगतिको अवस्था के छ ?
बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपियाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सात जना प्रधानमन्त्रीको शालिकसहित प्रधानमन्त्री पार्क निर्माण हुँदैछ । जुन आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै ३ करोड९८ लाखको लागतमा वडा नं.२ मा सन्ध्याकालीन आरतीस्थलको निर्माणधीन अवस्थामा छ । हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। व्डा नं. १४ मा ६ करोड १६ लाख रुपियाँको लागतमा रानीपोखरीसहित हरियाली उद्यान निर्माण भइरहेको छ । यो आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको छ ।त्यस्तै ७ करोड ३७ लाख रुपियाँमा वडा नं.१४ मै निर्माण भइरहेको मण्ठापोखरीको पनि काम ६५ प्रतिशत सकिएको छ ।६ करोडभन्दा बढीको विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८० प्रतिशत गरिसकेका छौं । १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।सिमिति स्रोतका वावजुद धेरै काममा हात हालेका छौं । ठूला आयोजनालाई बहुवर्षीय बनाउँदा बजेट ब्यवस्थापन सहज हुने भएकोले हामीले क्रमागत रुपमा काम गरिरहेका छौं ।
०महानगरको सौन्दर्यकरणका लागि भएका कामहरू बताइ दिनुनु ?
विराटनगरको कञ्चनबारी, तीनपैनी, जलजला, रोडशेष र घाँसचोकमा ७७ लाख रुपियाँ खर्चेर ट्राफिक लाइट जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकणमा सहयोग पुगेको छ ,ट्राफिक ब्यवस्थापन पनि सौन्दर्यकरण एउटा अङ्ग रहेछ । जथाभावि सवारी साधन दौडदा भन्दा अहिले शहरको सौन्दर्य र गरिमा बढेको छ । बरगाछी–रानी सडकको सौन्दर्यकरण धमाधम भइरहेको छ । उज्यालो विराटनगर अभियान क्रमस अघि बढी रहेको छ । हाटखोला पुलदेखि घिनाघाटसम्म सिंघिया करिडोर निर्माणको योजना अघि सारिएको छ ।
० विराटनगरलाई राष्ट्रिय ,अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन के के काम भएका छन् ?
विराटनगरको पहिचान झल्किने गरी महानगरको आफ्नै लोगो निर्माण गरी प्रयोगमा ल्याएका छौं । अन्तर्राष्ट्रिय साहित्य महोत्सवका साथै आरोहण गुरुकुलसँगको सहकार्यमा कोशी प्रदेश कला साहित्य उत्सवको भब्य आयोजना ग¥यौं । विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरी भाषा, साहित्य, संस्कृतिको विकास र प्रवद्र्धनको कार्य प्रारम्भ भइसकेको छ । प्रतिष्ठानको आयोजनामा भव्य राष्ट्रिय कला–साहित्य महोत्सव गर्ने तयारी भइरहेको छ । अडियो र भिडियोसहितको महानगरको आफ्नै गीत निर्माण भइसकेको छ ।
०समृद्ध महानगरका आधारहरू के के हुन् ?
छिमेकमा भारतको जोगवनी छ,खुला नाका छ । जबसम्म जोगबनी बन्द हुन्न तबसम्म यहाँको ब्यापारमा सुधार हुने देखिन्न । अर्को कुरा जोगवनी–धरान–किमाथाङ्का सडक पुरा भएपछि फेरि पनि विराटनगर राजनीतिक सँगै ब्यापारिक शहर बन्नेछ । त्यस्तै बिहार राज्यमा मदिरा निषेध छ । हामीले अझ सुरक्षित होटल पर्यटनको ब्यवस्था गर्न सक्यौं भने क्यासिनो खेल्न आउने भारतीय पर्यटक भित्राउन सक्छौं । उद्योग ,ब्यापार र पर्यटन नै समृद्ध महानगर बनाउने आधार हुन् । हिजो औद्योगिक सहरको पहिचान थियो । विराटनगरबाट प्रजातन्त्र रेडियो बजेको थियो । तर, अब त्यो रहेन । अब बिराटनगरले आज सोच्ने कुरा, देशले भोलि सोच्ने र गर्ने गरी हामी राजनीतिक विचारको शहरका रुपमा महानगरको परिचय बनाउँदै छौं ।
० विराटनगर महानगर विगतमा औद्योगिक शहरका रुपमा चिनिन्थ्यो , तर हाल आएर विराटनगरले पुरानो विरासत गुमाएको चर्चा छ नि ?
वास्तवमा अहिले महानगरमा उद्योगहरू कम छन् । कटहरी र बुढीगङ्गा गाउँपालिका औद्योगिक क्षेत्र भएका छन् । त्यसो भन्दैमा यहाँ केही नभएका होइनन ।तर, प्रजातन्त्रसँग जोडिएको विराटनगर जुल मिल हाल बन्द छ । हामीले उद्योग चलाउन सकिन्छ भने चलाउँ ,होइन भने औद्योगिक संग्रहालय वा उद्यानको रुपमा विकसित गरौं भनेर बारम्वार भनिरहेका छौं । करोडौंको सम्पत्तिलाई उपयोग गर्न सकिन्छ । हाम्रो कार्यक्षेत्र भित्र नपरेकोले हामीले सङ्घीय सरकारलाई घच्घच्याउने काम गरिरहेका छौं ।
० नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो रहेको छ ?
चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँको बजेट बनाएका थियौं । जसमध्ये १ अर्ब १० करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिकोमा माघ २८ गतेसम्म २९ करोड १ लाख रुपियाँ आम्दानी भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा २ करोड बढी हो । त्यसैगरी सङ्घीय सरकार समानीकरण, सशर्त र विशेष अनुदानबाट १ अर्ब २२ करोड १० लाख रुपियाँँ प्राप्त हुने अनुमान गरिएकोमा माघ २८ गतेसम्म ७० करोड ६ लाख २२ हजार प्राप्त भएको छ । प्रदेश सरकारतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएकामा २ करोड ५७ लाख प्राप्त भएको छ । पुँजीगत खर्चतर्फ १ अर्ब ३३ करोड ७१ लाख १४ हजार खर्च अनुमान गरिएकामा १४ करोड ६८ लाख ६८ हजार यथार्थ खर्च भएको छ । वित्तीय खर्चतर्फ ५ करोड अनुमान गरिएकोमा २ करोड ५० लाख ७६ हजार अर्थात् ५०.१५ प्रतिशत खर्च भएको छ । समग्रमा नगरको आन्तरिक आर्थिक स्रोत बढेकै देखिन्छ । तर, सङ्घ, प्रदेशको जस्तै महानगरले पनि लक्ष्य अनुसार राजश्व प्राप्त गर्न सकेको छैन् । हाम्रो आम्दानीको प्रमुख स्रोत कर र सिफारिस हो ।
० महानगर भित्रका ठूला विकास आयोजनाहरू के के छन् ?
महानगर भित्र रहेको विराटनगर विमानस्थललाई प्रादेशिक विमान स्थलको रुपमा विकसित गर्ने गरी काम भइरहेको छ । यो हाम्रो बजेटले सम्भव थिएन । हाल नयाँ टर्मिनल भवन बनिरहेको छ । कम्तीमा वाइड बडि नभए पनि न्यारो बडी विमान सम्म अवतरण गर्न सक्ने विमानस्थल बनाउन सक्यौं भने हवाई बाटो भएर विराटनगर आउने पर्यटकको सङ्ख्या बढ्ने छ । त्यस्तै गिरिजाप्रसाद कोइराला स्मृति अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सङघीय सरकारको गौरवको आयोजनाका रुपमा अघि बढेर पनि काम चालु भएको छैन् । यो आयोजनालाई सिघ्र अघि बढाउन नेपाल सरकारसँग माग गर्दछु ।
० विराटन महानगरपालिकाबाट देशका अरु स्थानीय तहले सिक्नु पर्ने केही छ ?
विराटनगर महानगर कोशी प्रदेशको राजधानी हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । यस्तै बेरुजु कम हुने जिल्लाका स्थानीय तहमा महानगर सबैभन्दा अघि छ । हरेक काम गर्दा कानून अनुसार कार्यविधि निर्माण गरेर गर्नुपर्छ , भन्ने सन्देश हाम्रो महानगरले दिएको छ ।
० स्वास्थ्य क्षेत्रमा महानगरले के के काम गरेको छ ?
महानगर भित्र. निःशुल्क एम्बुलेसन्स र शव वाहन सेवा सञ्चालनमा रहेको छ ।रानी अस्पतालमा निःशुल्क फिजियोथेरापी सेवा सञ्चालन गरेका छौं । रानी र बैजनाथपुर अस्पतालमा निःशुल्क बर्थिङ सेन्टर सेवा सञ्चालन गरिएको छ । अर्को महत्वपूर्ण कुरा हामीले बसपार्क र महानगरमा स्तनपान कक्ष सञ्चालन गरेका छौं । महानगरलाई मोतिया बिन्दु मुक्त महानगर अभियान बनाउने अभियान अन्तर्गत विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा मोतीयाबिन्दु भएका सबैको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ।रेडक्रससितको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्य सञ्चालन गरिरहेका छौं पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि १९ वटै वडामा परीक्षण र खोप अभियान अहिले पनि चलिरहेको छ ।
०अन्त्यमा केही छुट्यो कि ?
जाइकाको करिब २ अर्ब रुपियाँँ अनुदान सहयोगमा विराटनगरमा खानेपानीको परियोजनाको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । आगामी एक वर्षभित्र सो परियोजना सम्पन्न हुनेछ । सबैका घरमा खानेपानी पु¥याउन महानगरले समन्वय गरिरहेको छ । शिक्षा तर्फ हामीले क्रमागत रुपमा सबै विद्यालयमा पङ्खा जडान गरिरहेका छौं । हाल सामुदायिक विद्यालयमा ३० हजार अध्ययनरत छन् भने हरेक वर्ष १५ सयदेखि २ हजारको संख्यामा विद्यार्थी संख्या वृद्धि भइरहेको छ ।

























