Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि  कोइराला
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङका २७ जना उमेद्वारले आफूले आफैंलाई मतदान गर्न पाउनुहुने छैन् ।
प्रतिनिधिसभा निर्वाचनमा देशभर जुन पालिकाको मतदाता भएपनि आफूले चाहेको निर्वाचन क्षेत्रमा उमेद्वार बन्न पाउने ब्यबस्था रहेको छ । स्वतन्त्र र साना दलहरू मात्र होइन । पुराना ठूला दल र चर्चामा रहेका नयाँ दलले समेत निर्वाचन क्षेत्र बाहिरबाट नेता ल्याएर उमेद्वार बनाएका छन् । पूर्वमन्त्री एवम् काङ्ग्रेसका नेता डा.मीनेन्द्रप्रसाद रिजाल मोरङ निर्वाचन क्षेत्र नं. २ मा उमेद्वार हुनुहुन्छ । उहाँ विराटनगर महानगरपालिका ३ बाट मतदान गर्नुहुन्छ । उहाँले मतदान गर्ने स्थान मोरङ ४ मा पर्छ । मोरङ २ बाट नेकपा एमालेको उमेद्वार बन्नु भएका दिलिपकुमार अग्रवालले पनि आफूलाई मतदान गर्न पाउनु हुन्न । रङ्गेली नगरपालिकाको नगरप्रमुखबाट राजिनामा दिएर प्रतिनिधिसभाको उमेद्वार बन्नु भएका अग्रवाल रङ्गेली –७ निवासी हुनुहुन्छ । ७ नम्बर वडा मोरङको निर्वाचन क्षेत्र नंं. ५ मा पर्छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट मोरङ ४ को उमेद्वार बन्नुभएका अमनलाल मोदीले पनि आफूलाई मतदान गर्न पाउनु हुन्न । पूर्वमन्त्री मोदी मोरङ –६ को बुढीगङ्गा –६ बाट मतदान गर्नुहुन्छ ।
पार्टीको केन्द्रीय सदस्य मोदीले भन्नुुभयो – पार्टीले जहाँबाट उमेद्वार बनायो । त्यही निर्वाचन क्षेत्रको उमेद्वार बन्ने हो । यसअघि दुुई पटक निर्वाचित भइसक्नु भएका मोदीले मतदातासँग महागठबन्धन रहेकोले दलसँगको गठबन्धन भन्दा महागठबन्ध बलियो हुने बताउनुु भयो । उहाँले मतदाता सार्वभौम हुने बताउँदै उमेद्वारले कहाँबाट मतदान गर्छ भन्ने विषय गौण भएको उल्लेख गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य दिलिपकुमार अग्रवालले भन्नुुभयो–‘पार्टीले मोरङ २ मा उमेद्वार बनायो । जे जिम्मेवारी प्राप्त हुन्छ, त्यही बहन गर्नु मेरो दायित्व हो । उहाँले रङ्गेली नगरपालिकाको आधा भन्दा बढी मतदाता मोरङ –२ मा पर्छन् । २०७९को स्थानीय चुनाबमा नौ वडा मध्ये एउटा वडा सदस्य बाहेक सबै पद एमालेले जितेको थियो । उहाँले आफूले दिने एक मतले जितमा कुनै असर नगर्ने उल्लेख गर्नुभयो । नीति निर्माण र विकास निर्माणका एजेण्डासँग चुनाव जोडिएको हुन्छ । पार्टी चुनाब लडेको ठाउँमा उमेद्वारको मत सामान्य विषय हो, उहाँले भन्नुुभयो ।
यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनका मोरङ ३ का विकेन्द्र राई बाहेक कुनै पनि उमेद्वारले आफूलाई मतदान गर्न पाउनु हुन्न । मङ्गोल नेशनलले जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा उमेद्वार उठाएको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका विकेन्द्र राईका अनुसार मोरङ २ का उमेद्वार धनबहादुर लिम्बू बाहेक सबै उमेद्वार केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीले मोरङ ३ को बेलबारी ३ का सुरज फाम्बोलाई मोरङ १ मा,मोरङ ३ कै धनराज लिम्बुलाई मोरङ २ मा,मोरङ २ को सुनवर्षी २ की शकुन्तला श्रेष्ठलाई मोरङ ५ मा,मोरङ ३ का गोल्छा राईलाई मोरङ ५ र मोरङ १ को केरावारीकी अनु मगरलाई मोरङ ६ मा उमेद्वार बनाएको छ ।
दोस्रो पटक सङ्घीय संसदको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको नयाँ दल रास्वपाले मोरङ १ मा काठमाडौं महानगरपालिका वडा नं.८ का यज्ञमणि न्यौपानेलाई उमेद्वार बनाएको छ । निक्कै प्रतिस्पर्धा रहेपनि उहाँले आफूलाई मतदान गर्न पाउनु हुन्न । रास्वपा उमेद्वार न्यौपानेले भन्नुुभयो –‘झापा ५ मा मेरो उमेद्वार रहने कुरा थियो । तर, बालेन्द्र साहलाई पार्टीले झापा ५ पठाएपछि म सिमाना जोडिएको मोरङ १ आएको हुँ । उहाँले मतदाताको माग अनुसार नै आफू मोरङ १ आएको बताउनुु भयो । पार्टीको अनुशासन आयोगको उप प्रमुखको जिम्मेवारीमा रहनुभएका न्यौपानेले उक्त पदबाट राजिनामा दिएर मैदानमा आएको जानकारी दिनुुभयो । राप्रपाले मोरङ ६ मा सविन निरौलालाई उमेद्वार बनाएको छ । निरौला मोरङ– ३ को पथरीशनिश्चरे ४ निवासी हुनुहुन्छ । मोरङ ३ मा धनकुटा ४ का भुवनकुमार वाग्ले उर्जाशिल पार्टीबाट उमेद्वार रहनु भएको छ । सोही दलले मोरङ ३ को कानेपोखरी–४ का मनोज राजवंशीलाई मोरङ २ मा उमेद्वार बनाएको छ ।
पार्टीहरूले मात्र होइन । ब्यक्तिहरू पनि आफ्नो निर्वाचन क्षेत्र छोडेर बाहिर गई स्वतन्त्र उमेद्वार बन्नु भएको छ । मोरङ ५ को मतदाता भए पनि एउटै वडाका दुई जना छिमेकीहरू अनीलकुमार साह र नरेशकुमार साहले मोरङ २ बाट स्वतन्त्र उमेद्वारी दर्ता गराउनु भएको छ । उहाँहरू दुबै जना एमाले उमेद्वार दिलिपकुमार अग्रवालको छिमेकी हुनुहुन्छ । मोरङ २ को रतुवामाई ९ घर भएका तेजप्रसाद भण्डारी मोरङ ३ मा स्वतन्त्र उमेद्वार बन्नु भएको छ । नेकपा (माओवादी) का मोरङ ६ का उमेद्वार कुमारप्रसाद खतिवडाले मोरङ ५ मा मात्र आफ्नो पार्टी मोरङ ४ बाट उमेद्वार पठाएको जानकारी दिनुभयो । राष्ट्रिय उर्जाशिल पार्टी नेपालबाट मोरङ ३ को उम्मेद्वार बन्नु भएका भुवन कुमार वाग्लेले भन्नुभयो –‘म धनकुटा नगरपालिकाको वडा नंं ४ बाट मतदान गरेर सोही दिन निर्वाचन क्षेत्र फर्किन्छु । उहाँले पार्टीले जहाँ उमेद्वार बनायो ,त्यहीँ उमेद्वार बनेको बताउनुु भयो ।
मोरङ १ बाट दुई जना, २ बाट छ जना, ३ बाट पाँच जना ४ बाट छ जना र ६ बाट पाँच जना उमेद्वारले आफूलाई मतदान गर्न नपाउने हुनु भएको छ । मोरङमा स्वतन्त्र र दलबाट कुल ११० जना उमेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ ।

 



Share via
Send this to a friend