बेलबारी। पछिल्लो नौ महिनामा मोरङ जिल्लाको वन क्षेत्रमा तीन वटा हात्ती मारिएका छन् । मारिएका तीन वटै हात्ती भारतको असमबाट झापाको बाहुन्डाँगी हुँदै आहाराको खोजिमा नेपाल आएका थिए ।
वन विज्ञहरूका अनुसार मोरङको बेलबारी चिसाङ साझेदारी वन हात्ती प्रजननका लागि सुरक्षित क्षेत्र मानिन्छ ।पछिल्लो वर्ष मात्र यही बन क्षेत्रमा दुई वटा हात्तीले छावा जन्माएर हुर्काएको अध्ययनले देखाएको छ । वन विज्ञान अध्ययन संस्थान हेटौडाको उप प्राध्यापक शैलेन्द्र यादवले साझेदारी वनलाई उपभोक्ताको आवश्यकतासँग भन्दा पर्यापर्यटन र जैविक विविधताका हिसावले संरक्षण गर्न सुझाव दिनु भएको छ । मोरङको बेलबारीमा बिहीबार डिभिजन वन कार्यालय मोरङ र बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको साझेदारी वनको दश वर्षे रणनीतिक योजना निर्माणका क्रममा वन विज्ञहरूले हात्तीको बसोवास क्षेत्र सुरक्षित नभए मानव–हात्ती द्वन्द्व अझ डरलाग्दो हुने सुझाव दिनुभयो । उहाँका अनुसार नेपालमा मेची देखि बागमतिसम्म, बागमति देखि दाङसम्म र दाङ देखि शुक्लाफाँट वन्यजन्तु आरक्षसम्म तीन वटा अलग अलग जोनमा हात्तीको बसोवास क्षेत्र रहेको छ । गर्भाधारण लामो समयसम्म एउटै वंशमा भए हात्तीको वंश पनि विनास हुन्छ । त्यसैले हात्तीलाई तीन वटै जोनमा आवत जावत गर्ने जैविक मार्गको आवश्यक छ ।
उहाँले चिसाङ साझेदारी वनको बेलचौरी क्षेत्रको सामनो मानव वस्ती अन्यत्र सारेर हात्तीमार्ग बनाउन सुझाव दिनुभयो । भुपरिदिय संरक्षण पद्धति (ल्याण्डस्केप कन्जरभेसन एप्रोज) का आधारमा हामीले बनको विकास हुन दिनु पर्ने हो । तर, जङ्गलमा अर्वौको काठ कुहिने अनि हाम्रो आवश्यकताका लागि विदेशबाट काठ आयात गर्ने प्रणाली पनि ठिक नभएकोले सरकारले जङ्गली जनावरको वासस्थान सुरक्षित राखेर वनको उपयोग गर्ने कार्यक्रम बनाएको हो । वन क्षेत्रमा सेतो दूध आउने वनस्पति र अग्ला घाँस प्रजातिका वनस्पतिको वृहत वृक्षरोपण गरेर हात्तीको आहार जङ्गल मै व्यवस्थापन गर्न सके हात्ती मानव वस्तीमा नआउने विज्ञहरूको भनाई छ ।
वन ऐन अनुसार दश वर्षै रणनीतिक योजना निर्माण गर्नु पूर्व प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नुपर्ने ब्यवस्था छ । सोही व्यबस्थाका आधारमा बिहीबार डिभिजन वन कार्यालय मोरङ र साझेदारी वनले सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गरेको थियो ।
एकीकृत वातावरणीय विकास समाज संस्थाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बेलबारी चिसाङ साझेदारी बन क्षेत्र हात्तीको बसोवास क्षेत्र रहेकोले १६ सय हेक्टर मध्ये ८ सय हेक्टर बनमा कुनै पनि खाले रुख कटान गर्न नहुने सुझाव दिएको छ । उप प्राध्यापक यादवले १० वर्षमा ६० हजार रुख काटिने बताउँदै रुख कटानका कारण जैविक विविधता मासिनु नहुने बताउनु भयो । झाडी सफाईले साना बन्यजन्तु( सालक,खरायो,दुम्सी,स्याल,वँदेल) लगायतको बसोवास स्थल मासिने बताउँदै उहाँले काठ उत्पादनका लागि वृक्षरोपण गर्न सकिने तर,लोपोन्मुख प्रजातिका वन्यजन्तु मासिए वातावरणीय पारिस्थितिक प्रणाली (इकोसिष्टम) बिग्रने उल्लेख गर्नुभयो । जङ्गली जनावरको बसोवास स्थल नमासिने गरी काठदाउरा निकाल्नु पर्ने यादवको भनाई छ । पानीको स्रोतको संरक्षण र वन्यजन्तुको वसोवासको व्यबस्थापन पछि मात्र काठ दाउरा निकाल्नु पर्ने बताउँदै यादवले हात्तीको बसोवासस्थलमा लडापडा सुक्खाखडा रुख पनि ननिकाल्न उहाँले सुझाव दिनुभयो ।
साझेदारी बनका अध्यक्ष दिनेशप्रसाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा बन प्राविधिक विजय ठाकुरले वन उपभोग गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा प्रकाश पार्नुभयो । सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेशकुमार मिश्रले कार्यक्रम माथि प्रकाश पार्दै बन उपभोग गर्दा वनको दिगो ब्यवस्थापन आवश्यक हुने उल्लेख गर्नुभयो । कार्यक्रममा साझेदारी बन क्षेत्रका पालिकाका प्रतिनिधि , प्रहरी, पत्रकार र स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
























