Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे / सङ्घीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले समयमा काम नगर्दा पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार – गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग अवस्थामा छ ।
हिउँदमा धुलो र वर्षायाममा हिलो सहनु यहाँका उपभोक्ताको दैनिकी जस्तै भएको छ । २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नु पर्ने सडक तोकिएको मिति सकिएको १४ महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । लामो समयसम्म सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले पटक पटक ठाउँमा अबरुद्ध गरेको यो सडकले पुर्व पश्चिम राजमार्गसँग विराटनगर – रङ्गेली – आमबारी सडकलाई जोड्छ । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरी मार्फत २०७७ मा ठेक्का लागेको सडक कान्छाराम कन्ट्रक्सनले १ अर्व ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको हो । त्यतिबेला सडक जिल्ला कै नमुना सडकका रुपमा निर्माण हुने बताइएको थियो ।दुबै तर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे ।तर,आधा पनि काम नगरी निर्माण कम्पनी ले काम गर्न छोडेपछि स्थानीयको दुर्दशा सुरु भएको छ ।
सडकको कतिपय स्थान अझै दायाँबायाँका रुख काटिएको छैन । कतै नाला र कलभर्ट बनिसकेका छन् भने कतै काम नै सुरु भएको छैन् । सुनवर्सी ४ को गोलगाउँ दक्षिण काम सुरु नभएको स्थानीय राजकुमार हरदारले बताउनु भयो ।

 

 


पथरीशनिश्चरे ९ को महेन्द्रचौकका ८० वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो – सडकको चौडाई बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झण्डै ५ कट्ठा जग्गा दिएँ । तर,४ वर्ष पुरा भयो । सडक बनेको छैन् । सडक नजिकैका घरमा मात्र होइन , कोठा चोटा समेत धुलाम्ये भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताउनु भयो ।
सुनवर्षी ४ गोलगाउँका चन्द्रप्रसाद राजवंशीले भन्नुभयो –‘नम्बरी जग्गाबाट बाटो दिएको ५ वर्ष हुनलाग्यो , सुनवर्षी नगरपालिका खण्डमा पथरी क्षेत्रमा जति पनि काम नभएको राजवंशीको भनाई छ । सुनवर्षी ६ टकुवाका महेन्द्रप्रसाद केवरतले भन्नुभयो – २ महिना काम ग¥यो भने पाँच महिना हराउँछन् । सडकको मापदण्ड कायम नगरिदिँदा निर्माणको काम गर्न नपाएको पवननारायण राजवंशीले बताउनु भयो । राजवंशीले तीन वटा सटर सहितको घर बनाउन सुरु गरेपनि सम्पन्न गर्न सक्नु भएको छैन् । बेला बेलामा आएर सडकको सीमाना पूर्वपश्चिम सारिरहँदा समस्या भएको राजवंशीले बताउनु भयो ।
यता निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनका निर्देशक दीपक थिङले सरकारले समयमा पैसा नदिएकोले काम अघि नबढेको बताउनु भयो । उहाँले निर्माण कम्पनीले ऋण खोजेर काम गर्ने हो । सरकार बील पेश भएको पैसा पनि दिँदैन । निर्देशक थिङले १३ औं संसोधन पछि थप भएको म्याद आगामी असार मसान्त भित्र सडक निर्माण गरिसक्ने बताउनु भयो । उहाँका अनुसार हालसम्म ४० प्रतिशत भौतिक र ३० प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिनुभयो । माटो भर्ने, सडकको नाला, कल्भर्ट निर्माण सकिएको छ । अब ग्राभेल बेस र कालोपत्रेको काम बाँकी छ । स्रोत सुनिश्चित भए तोकिएको अवधिमा काम सकिन्छ । कतिपय स्थानमा साइड क्लियर भएको छैन् । साइड क्लियर नगरीकन ठेक्का लगाउने थितिले पनि काम गर्न अप्ठ्यारो भएको थिङ् बताउनु हुन्छ ।
२५ किलोमिटर लामो यो सडकले मोरङका पथरीशनिश्चरे,सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी जोड्छ । नेपाल भारतको ब्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परिरहेको छ ।



Share via
Send this to a friend