कानेपोखरी । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा फिचर एन्ड सराउद्धिन जेविले २०७१ मा निर्माण थालेको यो पुल कात्तिक २३ गते देखि सञ्चालनमा आएको हो ।
प्रारम्भिक चरणमा १५ प्रतिशत काम पनि नगरि सम्पर्क विहीन भएको निर्माण कम्पनीले पुन दोस्रो पटक सम्झौता गरी काम थालेको थियो । दोस्रो पटक सम्झौता गरेर एक सातासम्म काम गरेर फरार भएको कम्पनी पछिल्लो पटक सरकारका सबैं अङ्ग परिचालन भएपछि काम गर्न तयार भएको थियो । १ करोड १८ लाख रुपियाँमा १५ मिटर लम्बाईको पुल निर्माण गरी २०७७ को चैत मसान्तसम्ममा सडक डिभिजन कार्यालय मोरङलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर,त्यो अवधिमा कम्पनीले एक दिन पनि काम गरेन ।
कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्ने ठेक्का पाएको कन्चनजङ्घा कन्ट्रक्सनले २०७७ को चैत १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ । तर,पुल निर्माण गर्ने फिचर एन्ड सराउद्विन जेवि कन्ट्रक्सनले सडक हस्तान्तरण भएको ४ वर्ष ७ महिना पछि पुल बनाइसकेको छ । समयमा पुल नबन्दा गेउरिया खोलाले पाँच जनालाई बगाएको थियो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले तीन पटक म्याद थप्दा पनि निर्माण नभएपछि कानेपोखरी गाउँपालिका र रङ्गेली नगरपालिकाले ठेक्का सम्झौता रद्ध गर्ने प्रक्रिया अघि बढाएका थिए । दुबै पालिकाले निर्माण कम्पनीलाई कालो सूचीमा राख्न पत्राचार गरी सम्झौता रद्द गर्ने निर्णय गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । पछिल्लो पटक २०८० को असार मसान्तमा पुल हस्तान्तरण गर्ने सम्झौता थियो । त्यसपछि पुन म्याद थपेर पुल निर्माण सम्पन्न भएको हो ।
सराउद्विन जेविका सञ्चालक सराउद्दिन अन्सारीले भन्नुभयो –कम्पनीको इज्जत बचाउन दोब्बर खर्च गरी पुल निर्माण गरेका छौं । दुबै तर्फ पुलसम्म जोड्ने सडक कालोपत्रे गर्ने जिम्मा हाम्रो ठेक्कामा छैन् । हुलाकी सडक आयोजना इटहरीका सुचना अधिकारी उपेन्द्र दासले वल्र्ड बैंकको सहयोगमा कालोपत्रे र पुल जोड्ने पहुँच मार्ग निर्माण हुने बताउनु भयो । पुल बनाउने कम्पनीको जिम्मा पुलको मात्र हो । त्यसैले एप्रोज मार्ग पुल विभाग अन्तर्गत निर्माण हुन्छ , दासले भन्नुभयो ।

























