पश्चिम मोरङको सुन्दरहरैँचा नगरपालिका जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको नगरपालिका हो । साविकका कोशीहरैँचा र सन्दरदुलारी नगरपालिकालाई समायोजन गरी निर्माण भएको यो नगरपालिकाले कृषि र पशुपालनसँगै औद्योगिक र ब्यापारिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । जनसङ्ख्या,शिक्षा,औद्योगिक ब्यापार र कृषि उत्पादनमा जिल्लाको पहिलो मानिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंसँग अग्निपथ डटकमले गरेको कुराकारीको सारसंक्षेप ।
० निर्वाचित भएर आउनु भएको अढाई वर्ष बितिसकेको छ । यो बिचमा भएका महत्वपूर्ण कामहरू के के हुन् ?
–हामी निर्वाचित भएर आएको अढाई वर्ष पुरा भएको छ । यो बिचमा हामीले १५दशमलव ३९ किलोमिटर अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गरेका छौं । थोरै काम गर्ने तर,विगतमा भन्दा गुणस्तरीय गर्ने भनेर हामीले अस्फाल्ट प्रविधि अपनाएका हौं । ठूला गाडीको चाप नहुने साना र भित्रि सडकमा इन्टरलक प्रविधिको १०दशमलव ८५ किलोमिटर सडकमा ब्लक बिच्छ्याएका छौं ।५७ दशमलव ८५५ किलोमिटर सडक स्तरीय ग्राभेल भएको छ । २४ दशमलव ५९ किमी सडक एजिङ गरिएको छ । २२ वटा कल्भर्ट पुलहरू निर्माण गरेका छौं । एक दशमलव एक किमी खोलामा तटबन्ध भएको छ। २१ वटा भवन निर्माण भएका छन् भने १४७ वटा सडकलाई पहिचान हुने गरी नम्बरिङ गरिएको छ ।आधारभुत तहका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै काम भएको छ । बाल शिक्षामा आकर्षण थपिएको छ ।अभिभावकले जवरजस्ती नानी पठाउने भन्दा स्वतस्फुर्त नानीहरू विद्यालय प्रति आकर्षण हुने गरी बाल उद्यान निर्माण भएको छ । २,३,५,९र११ नं. वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । विद्यालयमा खानेपानी,शौचालय जस्ता आधारभुत आवश्यकता पुरा ग¥यौं । जसले गर्दा सरकारी विद्यालय प्रतिको आकर्षण बढेको छ ।
० सुन्दरहरैँचा नगरपालिकालाई समृद्ध नगर बनाउने मुख्य आधारहरू के के हुन् ?
सुन्दरहरैँचा नगरलाई कृषि,पशुपालन औद्योगिक उत्पादन र ब्यापारबाट समृद्ध नगर बनाउन सकिन्छ । हामीले कृषि उत्पादन वृद्धि गर्न किसानसँग साझेदारीमा धेरै काम गरेका छौं । दूलारी कृषि सहकारी मार्फत तोरी उत्पादन र प्रशोधनको कार्यक्रम सञ्चालन भइरहेको छ । जसले गर्दा किसान तेलहन बालिमा आकर्षित भएका छन् । पशुपालन गर्ने किसानको घर घरमा गएर पशु रोग बिरुद्ध खोपको सेवा दिएका छौं । गोठ सुधार कार्यक्रम, दूधको बजारीकरणका लागि सहयोग गरिरहेका छौं । चालु वर्ष मौरीउत्पादक किसानको २५ प्रतिशत सहलगानी र नगरको ७५ प्रतिशत अनुदानमा २०७ घार मौरी वितरण गरेका छौं । यो कार्यक्रमले किसानमा मौरीपालन प्रतिको आकर्षण मात्र बढेको छैन् । आर्थिक उपार्जनमा पनि सहयोग पुगेको छ । यति हुँदा हुँदै पनि नगरलाई समृद्ध बनाउने आधार भने औद्योगिक उत्पादन र ब्यापार नै हो । हामी अहिले भूउपयोग नीति निर्माण गरिरहेका छौं । विज्ञहरूले नगरको ८० प्रतिशत भूभाग आवास क्षेत्रका लागि उपयुक्त भएको सिफारिस गरेका छन् । अझ शैक्षिक क्षेत्रको गहना पूर्वाञ्चल विश्वविद्यालय,सुकुना बहुमुखी क्याम्पस, आइटी कलेज हामी कहाँ छन् । यहाँ थुप्रै ठूला उद्योग पनि सञ्चालित छन् । मानिस बसाई सराई भएर आउने क्रम पनि उच्च छ । त्यसैले पनि अबका केही वर्षपछि हाम्रो नगर औद्योगिक तथा ब्यापारबाट नै समृद्ध बन्न सक्छ ।
० नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो रहेको छ ?
–गत वर्ष नगरको आन्तरिक आम्दानी १५ करोड रुपियाँ थियो । चालु आर्थिक वर्षमा २० करोड रुपियाँ पु¥याउने लक्ष्य राखेका छौं । ६ महिनाको उपलब्धि हेर्ने हो भने लक्ष्य पुरा हुने निश्चित छ । हाम्रो अर्जुन दृष्टि भनेको नगरको आन्तरिक आम्दानी बढाएर परनिर्भरता अन्त्य गर्नु हो ।स्थानीय तहलाई आत्मनिर्भर बनाउनका लागि दहत्तर–बहत्तर, खोलाजन्य खनिजको ठेक्का, एकीकृत सम्पति कर,ब्यापार ब्यावसाय कर एवम् नवीकरण शुल्क,घरबहाल कर,हाटबजार कर र विभिन्न प्रकार सेवा प्रवाहमा लाग्ने सिफारिस दस्तुर आम्दानीका मुख्य स्रोत हुन् । खोलाजन्य आम्दानीलाई ब्यवस्थित गर्ने हो भने नगरको आन्तरिक स्रोतले पनि सानातिना विकासका कामहरू गर्न सकिन्छ । तर, पनि आन्तरिक आम्दानीले नगरको खर्च धान्न सक्ने अवस्था छैन् ।
० नगरमा सञ्चालन भएका ठूला आयोजनाहरू के के हुन् ?जुन नगरको आन्तरिक स्रोतबाट सम्भव हुँदैनन ।
–नगरको वडा नम्बर ७ मा विश्व बैंकको ५० करोड रुपियाँ आर्थिक सहायतामा पूर्वाञ्चल विश्व विद्यालय जाने सडक कालोपत्रे भइरहेको छ । भारतीय दुतावासको साडे ४ करोड रुपियाँ सहयोगमा पञ्चायत माविको सुविधा सम्पन्न शैक्षिक भवन निर्माणधीन अवस्थामा छ।तर, हामीले पालिकाको प्रमुख प्रशासनिक भवन निर्माण गर्न सकेका छैनौं ।२०७९ सालमा सलकपुरमा ४ बिघा ८ कट्ठा जग्गा ब्यवस्थापन गरी डिपीआर समेत निर्माण गरिसकेका छौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ सालमा भवनको शिलान्यास गर्नुभयो । तर, स्रोतको सुनिश्चितता नभएकोले भवन निर्माण गर्न सकेका छैनौं । हामीले सङ्घीय सरकारले उपलब्ध गराउने साडे ६ करोड र प्रदेश सरकारसँग १५ करोड रुपियाँ सुनिश्चित गर्न माग गरेका छौं । नगरको वडा नं.१ मा सञ्चालित नगर अस्पताल जीर्ण भवनमा सञ्चालन भइरहेको छ । ७४ प्रकारका विभिन्न परीक्षण गर्न सकिने ल्याव सहित एमडिजीपि सेवा दिइरहेको अस्पतालको सेवा देशभरका नगर अस्पतालहरूमा अब्बल भित्र पर्छ । हाल अस्पतालको आम्दानीले ७५ प्रतिशत खर्च धानिरहेको अवस्था छ ।पूर्वाधार ब्यावस्थापनका लागि बजेटको अभाव भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका तीन वटा खोलाको कटानबाट पीडित छ । पूर्वको लोहोन्द्रा,बिचमा गछिया र पश्चिममा बुढी खोला छन् । सय खोलाले बर्सेनि करोडौंको क्षति गर्छन् । खोलामा स्थायी तटबन्धका लागि स्थानीय सरकारले केही गर्न सकेको छैन् ।पछिल्लो समय एक महिनाको अवधिमा हात्तीले तीन जनाको ज्यान लिएको छ । यो नयाँ समस्या बनेर आएको छ । हात्ती पीडितहरू नगरले केही गरेन भन्नुहुन्छ । स्थायी रुपमा गर्न सकिने उपाय हामीसँग छैन् ।नगरिकन पनि भएको छैन् । जङ्गलसँग जोडिएका बस्तीहरू जङ्गली हात्तीका कारण त्रासमा हुनुहुन्छ । कम्तीमा सडकमा बत्तीसम्म लगाउन सकेपनि हात्ती देखेपछि ज्यान बचाउन सकिन्छ कि भन्ने अवस्थामा हामी पुगेका छौं ।
० नगर विकासको प्रमुख चुनौतिहरू के के हुन् ?
– सुन्दरहरैँचा नगरपालिकामा थुप्रै चुनौति छन् । ति मध्ये सबैभन्दा ठूलो चुनौति मानव संसाधनको च्रनौति हो । नगरमा विश्वविद्यालय छ, ठूला क्याम्पस छन् । आइटी कलेज छ । त्यतिकै मात्रमा विद्यालय, वोर्डिङ छन् । यति हुँदाहुँदै पनि धेरै बालबालिका विद्यालय जाँदैनन । उनीहरूलाई विद्यालय पठाउने र ड्रप आउट रोक्न अनेकन उपाय लगाए पनि सफलता प्राप्त भएको छैन् । विगतको भन्दा केही सुधार भएको छ । तर, सन्तुष्ट हुने ठाउँछैन् । विद्यार्थीका लागि छात्रवृतिको ब्यवस्था, शैक्षिक सामग्री प्रबन्ध लगायत धेरै कार्यक्रम शिक्षा क्षेत्रमा ल्याएका छौं । तर, पनि आशादित परिणाम प्राप्त भएको छैन् ।यि बाहेक ठूला चुनौति हामी कहाँ छैनन् । द्वन्द्वकालमा बसेको बन्द निषेधित क्षेत्रको जग हाल अझ बलियो भएको छ । यहाँ कुनै बन्दका कारण ब्यापार ब्यावसायमा समस्या हुन्न । ढल ब्यवस्थापनमा केही चुनौति छन् । तर विस्तारै समाधनको बाटोमा छौं । फोहोरमैला ब्यवस्थापनको स्थायी र दिगो समाधानका लागि डम्पिङ साइट निर्माण गर्न ठूलो चुनौति छ ।
०सुन्दरहरैँचा नगरपालिकाबाट देशका अरु स्थानीय तहले सिक्नु पर्ने केही छ ?
अवस्य छ । हामीले साजीलाल माध्यमिक विद्यालयमा कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरेका छौं । अति विपन्न परिवारका विद्यार्थीलाई कक्षा१२ सम्मको अध्ययनका लागि यसले सहज बनाएको छ । ५ लाख रुपियाँ बीउ पुँजी दिएर त्यही पुँजीबाट पढ्ने खर्च निकाल्न विद्यार्थीहरूले श्रम गर्ने गर्छन् । विद्यालयको प्रसस्त जग्गा छ । जग्गामा मौसम अनुसार खेती लगाउने र खेतीको आम्दानीबाट पढ्ने खर्च जुटाउने गरिएको छ । अहिले विद्यार्थीले तोरी खेती गरेका छन् । आगामी वर्ष कुनै एउटा विद्यालयमा विद्यार्थीलाई प्राविधिक सीप सिक्ने ब्यवस्था मिलाउने तयारीमा छौं । पढ्न कमजोर तर सीप सिकेर गरी खान सक्ने विद्यार्थीलाई छनौट गरेर एसी,फ्रिज,मोेवाइल,टिभी जस्ता इलेक्ट्रोनिक्स सामान मर्मत सम्बन्धी तालिम सञ्चालनको तयारी गरिरहेका छौं ।नगरले मलिला,दलित र अपाङ्गता भएका ब्यक्तिलाई स्थायी प्रकृतिका करमा छुट दिएको छ । मौलिक पहिचानका बस्तु तथा सामग्री उत्पादन गर्ने ब्यावसाय दर्ता गर्दा छुटको ब्यवस्था छ । नगरले आफ्नै खर्चमा २ सय टन क्षमताको शीत भण्डार स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
अन्त्यमा केही ?
नगरमा २०७९ साउन १ गते देखि माघ ८ गते सम्म १२ हजार ५ जना बसाई सरि आएका छन् भने ३ हजार ६१४ जना बसाई सरेर गएका छन् । गत वर्षपनि हाम्रो नगरमा आउनेको सङ्ख्या जानेको भन्दा तीन गुणा बढी छ । नगरमा घना आवादी बढीरहँदा सोही अनुसारको पूर्वाधार,स्वास्थ्य,शिक्षा,सडक र खानेपानीको बिस्तार गर्नुपर्ने हुन्छ । विपन्न परिवारका १५० परिवारका लागि सुरक्षित घर निर्माण गरेका छौं । सिमित बजेट तर,अनन्त आवश्यकताले गर्दा आम नागरिकको माग र अपेक्षा अनुसार काम गर्न असम्भव भएको हो । तर, पनि स्रोतले भ्याए सम्म र बाह्य स्रोत खोजेर पनि हामी काम गरिरहेका छौं ।

























