बेलबारी । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई चैत ३० गते आइतबार मोरङस्थित माेरङ ३ निर्वाचन क्षेत्रका जनताले पञ्चेबाजा सहित भव्य स्वागत गरेका छन्। बेलबारी नगरपालिका–११ मा आयोजित विशेष कार्यक्रममा डा. शर्माले एक थान एम्बुलेन्स हस्तान्तरण गरेपछि स्थानीय बासिन्दाले पञ्चेबाजाको धुनमा नाचगानसहित उहाँको आत्मीय स्वागत र सम्मान गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेशसभा सदस्य मान बहादुर लिम्बू, वडाध्यक्ष विक्रम लिम्बु तथा अन्य स्थानीय नेताहरुको उपस्थिति रहेको थियो।
सांसद शर्माले प्रतिनिधिसभाका एकमात्र सांसदका रूपमा तलब भत्ता नलिने प्रतिबद्धता जनाउँदै आउनु भएकाे छ। उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भएकाे छ । शिविरमार्फत उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आउनु भएकाे छ ।
डाक्टर शर्माकाे पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। कुनै पनि दलका जनताप्रति भेदभाव नगरी समान रूपले सेवा पुर्याउँदै आउनु भएका शर्माले अहिले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेसँगै हालसम्म निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसक्नु भएकाे छ ।

























