Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
लेटाङ ।मोरङको लेटाङ–६ पब्लिक टोलका ३५ वर्षीय विष्णु मगरलाई यति बेला बाँसका सामग्री निर्माण(हेन्डीग्राफ्ट) बनाउन र तालिममा सहजीकरण गर्न भ्यान नभ्याई छ ।
उहाँ शुक्रबार मात्र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको दुई महिने बाँसका हस्तकला सामग्री बनाउने तालिममा सहजीकरण गरी घर फर्कनु भयो ।नेपाल मै पहिलो पटक गत फागुन १५,१६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन आयोजना गरेको नगरपालिकाले काठको विकल्प बाँस हुन सक्ने भन्दै दुई महिनासम्म बाँसबाट घर र हस्तकलाका सामग्री बनाउने तालिम आयोजना गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भन्नुभयो– दुई महिनासम्मको तालिममा असमका प्रभास शाक्य र लेटाङका विष्णु मगरले सहज ढङ्गले सहजीकरण गर्नुभयो ।
दुई सय रुपियाँमा किनेको एक घना बाँसमा सीप भरेपछि १५ हजार रुपियाँ सम्ममा बिक्री गर्न सकिने सामग्री बन्ने विष्णु बताउनु हुन्छ । भनिन्छ– हातमा सीप र मनमा जाँगर भए पैसा कमाउन न बिदेसिनु पर्छ, न ब्यापार वा जागीर नै खानुपर्छ । विष्णु होचो कदको हुनुहुन्छ । नेपाल होचा पुड्का सङ्घबाट २०७४ सालमा बाँसका फर्निचर र सजावटका सामग्री बनाउने तालिम लिएपछि उहाँले आफूले सिकेको सीपलाई अहिले ब्यवसाय बनाउनु भयो । बिहान उठ्ने वित्तिकै देखि साँझ अबेरसम्म विष्णु बाँसमा सीप भर्नु हुन्छ । ग्राकहको माग अनुसारका सामग्री निर्माण गरेर दिनुहुन्छ । पछिल्लो समय तालिम सहजीकरण गर्न जिल्ला बाहिर पनि जानु पर्ने भएकोले माग अनुसारका हेन्डीग्राफ्ट सामग्री निर्माण गर्न विष्णुले भ्याउनु भएको छैन । मगरले भन्नुभयो–ग्राहकलाई देखाउन बाहेक धेरै सामग्री बनाएर राखेको छैन् । साउन देखि सुरु हुने विभिन्न संघ संस्थाका साधारण सभा÷सम्मेलनमा पाहुनाहरूलाई उपहार स्वरुप दिइने मायाको चिनोको माग धेरै छ । विष्णुले बाँसबाट कुर्सी,टेवल मात्र होइन। काईयो,धरहरा,घर,पशुपतिनाथ मन्दिर,बिजुलीको बल्व झुण्ड्याउने स्टेण्ड, पुस्तक ¥याक लगायत विभिन्न २५ प्रकारका हेन्डीग्राफ्टका सामग्री निर्माण गर्नुहुन्छ ।
मगर आफू पनि फरक क्षमताको हुनुहुन्छ , त्यसैले अपाङ्गता भएका ब्यक्तिहरूको संस्थालाई अलि बढी समय दिनुहुन्छ । अपाङ्गता भएका ब्यक्तिमा पनि फरक क्षमता हुन्छ, उहाँहरूलाई सीप सिकाउने र आय आर्जनमा जोड्ने काममा सहजीकरण गरिरहेको छु ।४ दशमलव २ फिट उचाईका विष्णु आफू होचो भएपनि औषत मानिसहरू जस्तै सबै काम गर्न सक्ने बताउनु हुन्छ । हाल मासिक ४० हजार सम्म कमाइ गरिरहनु भएका मगरले पूर्ण रुपमा घरमै बसेर काम गर्न पाए, कमाई दोब्बर हुने बताउनु भयो । बाँसको यो चाँही सामग्री बन्दैन भन्ने छैन । मात्र मेहनत र समयको कुरा हो ।
विष्णुले हालसम्म २२ स्थानमा तालिमको सहजीकरण गरिसक्नु भएको छ ।राम्रोसँग काम गर्ने हो भने बाँसका सामग्रीले प्लाष्टिकलाई विस्थापित गर्नसक्ने उहाँको भनाई छ । उहाँले थप्नु भयो–हामी पैसा कमाउन बिदेश जान्छौं, पैसा यही छ, मात्र सीपलाई र मेहनतसँग प्रयोग गर्नुपर्छ ।



Share via
Send this to a friend