Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । निर्माण कम्पनीबाट भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको विश्व बैंकको सहयोगमा निर्माणधीन उर्लाबारीको ५ दशमलव २७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम निर्धारित समय भित्रै सकिने भएको छ ।
झण्डै तीन महिना काम रोकिएपछि निर्धारित समयमा काम नसकिएला भन्ने चिन्ता थियो । तर, निर्माण कम्पनीले असार मसान्त भित्र काम सक्ने गरी जनशक्ति थपेर धमाधम काम गरिरहेको नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले बताउनु भयो । नगर प्रमुख खरेलका अनुसार हालसम्म सडक निर्माणको ८७ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिफल इन्फ्रा हैदरावालले ग्लोवल टेण्डर मार्फत निर्माणको जिम्मा लिएको थियो । तर, सिफलले काम गरेन । सिफलले उर्लाबारीका स्थानीय निर्माण ब्यावसायी अर्जुन तुम्रोकलाई निर्माणको जिम्मा दिएको थियो । तर,तुम्रोकले गरेको कामको भुक्तानी सिफलले नदिएपछि नगरपालिकाले मुख्य निर्माण कम्पनीको बैंक ग्यारेन्टी(धरौटी) वापतको रकम ४ करोड ५० लाख रुपियाँ तानेको थियो । बैंक धरौटी नगरपालिकाले तानेपछि सिफल र तुम्रोक बिच काम गर्ने सहमति भएको थियो ।
२०८२ को असार मसान्त सम्ममा काम सक्नु पर्ने सम्झौता छ । सम्झौता अनुसारको म्याद सकिन एक महिना भन्दा कम समय रहेपनि निर्धारित मितिमा नै काम सक्ने तुम्रोक कन्ट्रक्सनका सञ्चालक अर्जुन तुम्रोकले बताउनु भयो । उहाँले ९० प्रतिशत काम सम्पन्न भएको अवस्थामा म्याद थप सम्बन्धी कुनै कानूनी जटिलता नहुने बताउनु भयो । मुख्य भौतिक काम सकिन्छ । सौन्दर्यकरण र सडक विद्युतको काम बाँकी रहे क्रमागत रुपमा गर्न सकिने उहाँको भनाई छ । २०८०को असोज ८ गते शिलान्यास भएको सडकले पूर्व पश्चिम राजमार्ग अन्तरर्गत उर्लाबारी–३ को कृष्णचौकसँग उर्लाबारी २ को सुनझोडालाई जोड्ने छ ।
३६ करोड १२ लाख ४३ हजार ६१६ रुपियाँमा निर्माण भइरहेको यो सडकको चौडाई ५ दशमलव ५ मिटर देखि अधिकतम ७ मिटरसम्म रहेको छ । सडकमा साइकल लेन दुबैतर्फ १ दशमलव २ मिटर ,नाला र फुटपाथ १ दशमलव ८ मिटर,टिक ड्रेन शुन्य दशमलव २५ मिटर रहेको छ ।
उर्लाबारी नगरपालिकाको गौरवको आयोजनाका रुपमा लिएको यो सडकमा ५० वाटका ५२६ वटा सडक बत्ती २०।२० मिटरमा राखिनेछ । जसका लागि पोल गाड्ने काम सकिएको छ । १०।१० मिटरमा वृक्षारोपण गर्ने, जेव्राक्रसिङ राख्ने लगायतका सडक सौन्दर्यको काम भने हालसम्म सुरु भएको छैन ।
उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले चालु वर्ष यो आयोजना सम्पन्न भएपछि आव २०८१।०८२ मा नगरमा १५ किलोमिटर कालोपत्रे सडक थपिने बताउनु भयो ।



Share via
Send this to a friend