कानेपाेखरी । नेपाली कांग्रेसका नेता एवम् मोरङ– ३ का निवर्तमान सांसद डाक्टर सुनीलकुमार शर्माले निर्वाचन क्षेत्रमा सक्रियता बढाउनु भएको छ ।आगामी फागुन २१ गतेलाई ताेकिएको प्रतिनिधिसभाको निर्वाचन जति नजिकिँदै छ , डाक्टर शर्मा उति नै जन जनलाई भेटेर दुख सुख साटिरहनु भएको छ ।
आइतबार उहाँले कानेपोखरी– ६ को सुन्तोली आधारभुत विद्यालय सुन्तोलीडाँडा र सरस्वती आधारभुत विद्यालय मुलगाउँको भवन उद्घाटन गर्नुभयो । डाक्टर शर्माले आधारभुत तहको शिक्षा गुणस्तरीसँगै निशुल्क हुनुपर्ने बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि स्थानीय अभिभावक, शिक्षक र विद्यार्थी जिम्मेवार बन्नुपर्ने बताउँदै पूर्वाधार र उपकरणको प्रबन्ध सरकारले गर्ने उल्लेख गर्नुभयो ।
सरस्वती आधारभुत विद्यालयको उद्घाटन कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ऋतुमान दर्जीको अध्यक्षतामा भएको थियो भने सुन्तोली आधारभुत विद्यालयको उदघाटन समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन दर्नालको अध्यक्षतामा भएको थियो । दुबै कार्यक्रममा कोशी प्रदेश सभामा सदस्य एवम् कांग्रेस नेता मानबहादुर लिम्बू लगायतका नेताहरूको उपस्थिति रहेको थियो । आइतबार नै डाक्टर शर्माले कानेपोखरी– ४ को डाँसखोलामा तटबन्ध कार्यक्रमको शिलान्यास गर्नुभयो । वडा नंं ४ को डाँस खोलामा ६५० मिटर तटबन्ध गर्न नेता शर्माको पहलमा तीन करोड रुपियाँ विनियोजन भएको थियो । ठेक्का आह्वान गर्दा तोकिएको क्षेत्रमा घटाघटबाट २ करोड २८ लाख रुपियाँ ठेक्का लागेको वडा नम्बर ४ का वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो । वडाध्यक्ष राउतको अध्यक्ष्तामा भएको कार्यक्रममा मोरङ ३(१) का सांसद मानबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

























