Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

रतुवामाई । मोरङ क्षेत्र नं. ३ का निवर्तमान सांसद एवम् नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिलकुमार शर्माले आफूले प्रारम्भिक शिक्षा लिएको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपियाँको लागतमा विद्यालय भवन निर्माण गरिदिने हुनुभएको छ । शुक्रबार एक भव्य कार्यक्रमका बिच डाक्टर शर्माले नयाँ भवनको शिलान्यास गर्नुभयो ।
आफ्ना मातापिताको नाम सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ उहाँको सहयोगमा निर्माण हुन लागेको उक्त भवन विद्यालय हाताभित्र ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुनेछ। सो भवनमा १० कोठे अत्याधुनिक कम्प्युटर ल्याब तथा शौचालय समेत रहने जनाइएको छ। यस अवसरमा विद्यालयको नाम परिवर्तन गरी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखिएको जानकारी दिइएको छ ।
शिलान्यास कार्यक्रमकै क्रममा डा. शर्माले एमबीबीएस, बीडीएसलगायत काठमाडौं मेडिकल कलेजमा उपलब्ध सबै विषयहरूमा पीएचडीसम्म अध्ययन गर्न मिल्ने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ। उक्त छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई स्थापनाकालमा जग्गा उपलब्ध गराउनुभएका नरेन्द्रबहादुर थापाको नाममा स्थापना गरिनेछ भने बाँकी रकममध्ये २५÷२५ लाख रुपैयाँ उहाँका जिजुबुवा गणपति न्यौपाने र हजुरबुवा गुणलाल न्यौपानेको नाममा स्थापना गरिने बताइएको छ।
विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७२ (तेस्रो संशोधनसहित) को दफा २६ को उपदफा २, ३ र ४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी गरिएको जनाइएको छ।
कार्यक्रममा बोल्दै डा. शर्माले आफू अध्ययन गरेको विद्यालय र शिक्षकहरूबाट पाएको न्यानो स्वागतले आफू भावुक बनेको उल्लेख गर्नुभयो । अत्यन्त दुःख, अभाव र संघर्षका बीच विद्यालय स्थापना गर्ने संस्थापकहरूको योगदान संस्मरण गर्दै उहाँले उसबेला विद्यालय स्थापना नभएको भए आज कोही पनि यो अवस्थाको चेतनामा आउन नसक्ने थिए, भन्नुुभयो । “एउटा असल र जिम्मेवार मानिसको योगदानले हजारौँको भविष्य निर्माण हुन सक्छ,” उहाँले भन्नुभयो। विद्यालयप्रतिको ऋण तिर्ने उद्देश्यले नै शिक्षा क्षेत्रमा यो सहयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो।
त्यसैगरी कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानले विद्यालयका विद्यार्थीहरूमा पढाइप्रति थप आत्मविश्वास र हौसला पैदा भएको बताउनुभयो। आवश्यक पूर्वाधार, छात्रवृत्ति र प्रोत्साहन उपलब्ध भएपछि अब यस विद्यालयका विद्यार्थीहरूले निजी बोर्डिङ विद्यालयका नतिजालाई समेत चुनौती दिन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर सिंहले डा. सुनिल शर्मालाई महान् दाताको रूपमा स्मरण गर्दै उहाँको योगदानको खुलेर प्रशंसा गर्नुभयो। धन हुने व्यक्ति धेरै भए पनि यति निस्वार्थ, मनकारी र समाजप्रति समर्पित दानवीर विरलै पाइने उहाँको भनाइ थियो। यस सहयोगले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डा. सुनिल शर्माको योगदानलाई शिक्षा क्षेत्रमा उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा लिइएको छ।



Share via
Send this to a friend