हरिप्रसाद कोइराला
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने दलहरूले आफ्नो घोषणापत्रमा प्रतिवद्धता प्रकट गरेका छन् । दलहरूले घोषणा पत्रमा प्रतिवद्धता ब्यक्त गरे पनि ति प्रतिवद्धता कार्यान्वयनमा भने शङ्का हुने गरेको छ ।
विराटनगर महानगरपालिकाका १९ वटा वडालाई तीन संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । तीन वटै निर्वाचन क्षेत्रमा विराटनगरको विकास र समृद्धिसँग जोडिएका ठूला ठूला आयोजनाहरू छन् । ति आयोजनाहरू निर्वाचनको बेला सधैं दलहरूको प्राथमिकतामा पर्छन् । तर, सरकार बनेपछि ति सबै आयोजनाहरू क्रमश सुस्ताउँछन् ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला
मोरङ ४ मा महानगरका वडा नंं.१,२,३,८,१० र १९ नम्वर वडा पर्छन् । १९ नं. वडामा पर्ने सधैं चर्चामा रहने गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला छ । यो रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एकमात्र क्रिकेट मैदान हो ।२०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनाका साथ तत्कालिन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण ग¥यो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गर्ने काम सम्पन्न भयो । त्यसयता कुनै ठोस काम भएको छैन् । स्थानीय, प्रदेश सरकारको बजेट आए पनि ति बजेटबाट उल्लेखनीय काम नभएको मोरङका क्रिकेट प्रशिक्षक र खेलाडीको गुनासो छ । प्रदेश स्तरीय ठूला प्रतियोगिता समेत आयोजना भइसकेको क्रिकेट मैदान मर्मतमै वार्षिक ३ लाख बढी खर्च हुन्छ ।तर, बजेट छैन । मेघा प्रोजेक्ट हो । अर्वौं पैसा चाहिन्छ । बजेट टुक्राटुक्री बजेट आउँछ । त्यो टालटुल मै सकिन्छ ।
जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद वाबु कुरेसीले सामाजिक विकास मन्त्रालयले दिएको १ करोड रुपियाँको बजेटबाट समेत काम सम्पन्न गर्न नपाएको बताउनु भयो । कुरेसीका अनुसार कोभिड अघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले १ करोड रुपियाँ विनियोजन गरेको थियो । पेवेलियम रुम सहितको ४ तले भब्य भवन बनाउन थालेको क्रिकेट सङ्घले काम बिचमै रोक्नु प¥यो । कोभिडको बाहानामा काम रोकिएपछि उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ ।
बहुउदेश्यीय खेलमैदानको अवधारण अनुसार खरिद गरिएको १५ विघा १० कट्ठा जग्गामा टेनिस कोर्ट र सुटिङ हल (सुटिङ खेल्ने घर) समेत निर्माण भइसकेका छन् । ति दुबै अहिले संरक्षणको पर्खाइमा छन् । क्रिकेट मैदान बरिपरि घेरिएको भएपनि खेलमैदानको अरु जग्गा गौचरण बनेको छ । बिहान देखि साँझसम्म स्थानीयले गाई,भैंसी बाख्रा पगाहा लगाउने गरेका छन् ।
विराटनगर औद्योगिक क्षेत्र
महानगरका वडा नं. १३–१८ निर्वाचन क्षेत्र नं. ५ मा पर्छन । तत्कालिन विराटनगर उपमहानगरपालिकाको २० नंं. वडा हाल विराटनगर महानगरको वडा नं.१६ भएको छ । यही वडामा मिल्स एरिया नाम गरेको ठूलो औद्योगिक क्षेत्र छ । सरकारी स्वामित्वको त्यस क्षेत्रमा विराटनगर जुट मिल्स,जुद्ध म्याच फ्याक्ट्री, मोरङ सुगर मिल ,विराटनगर प्लाई उद्योग,गणपति कटन मिल्स र नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय भण्डार केन्द्र लगायत थुप्रै सरकारी उद्योगहरू थिए । अहिले त्यो औद्योगिक क्षेत्र नाम मात्रको छ । सबै उद्योग बन्द छन् । मजदुर र कर्मचारी छैनन् ।
वडा नंं.१८ का वडाध्यक्ष उद्धव भुजेलका अनुसार ति उद्योगमा झण्डै १० हजार मजदुर कर्मचारीले काम गर्थे । भुजेल विगत सम्झिँदै भन्नुहुन्छ–‘ विहान उद्योगमा काम गर्न जाने र साँझ घर फर्किने मजदुरको ताँती विराटनगर सम्मको हुन्थ्यो । केही मजदुर भारतबाट पनि आउँथे ।’तर, अहिले झण्डै ९० बिघामा फैलिएको मिल्स एरिया विराटनगर मुर्दाघर जस्तै सुनसान भएको छ ।
विराटनगर २०५० को दशक सम्म नेपालको प्रमुख औद्योगिक शहरको सूचीमा पहिलो नम्बरमा थियो ।औद्योगिक रुपमा मात्र होइन, विराटनगरले नेपालको लोकतान्त्रिक ब्यवस्थाको जग बसायो । प्रजातन्त्र रेडियोको रुपमा पहिलो रेडियो यही स्थापना भयो । पाँच जना पूर्व प्रधानमन्त्री जन्मायो । तर, त्यही विराटनगरलाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नफापेको विश्लेषण हुन थालेको छ ।
विराटनगर विमानस्थल विराटनगर
महानगरका ४–७,९ र ११,१२ नम्वर वडा निर्वाचन क्षेत्र नंं. ६ मा पर्छन् ।दलहरूले नै विराटनगर विमानस्थल विस्तार गर्नुपर्ने माग सहित कार्यक्रम बनाएपछि सरकारले २०७७ कात्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने निर्णय ग¥यो ।सोही अनुसार २०७७ फागुन १८ गते विमानस्थल वरिपरिका ८०९ जना स्थानीयवासीको एक हजार २६७ कित्ताको १२६.४६ बिघा जग्गा रोक्का गरियो ।
विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तयार गरेर अधिग्रहण गर्नुपर्ने जग्गाको सीमाङ्कन र रेखाङ्कन सकिएको थियो । मुआब्जा निर्धारण गर्न मोरङका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाको संयोकत्वमा उपसमिति बन्यो । उक्त उपसमितिले मुआब्जा निर्धारणको कामसमेत करिब अन्तिम चरणमा पु¥याएको थियो । तर, मुआब्जा पर्खिएका जग्गाधनीले दुई वर्षको बजेट कुर्दा पनि सरकारले बजेटमा मुआब्जालाई सम्बोधन गर्न सकेन । छिमेकी देश भारत र प्रदेशका लागि माउन्टेन फ्लाइट, अन्तरप्रादेशिक उडान भर्ने वातावरणका लागि व्यवसायीले विगत १५ वर्षदेखि विमानस्थल विस्तारको माग राख्दै आएका थिए । तर, महानगर र पर्यटन ब्यावसायीले राखेको विमानस्थल विस्तारको योजना मुआब्जा वितरण गर्न नसकेपछि तुहियो ।
पर्यटन तथा होटल ब्यावासायी बासुदेव बराल भन्नुहुन्छ –‘प्रदेश राजधानी रहेको विराटनगरबाट १४ जिल्लालाई जोड्ने विमानस्थलको पूर्वाधार विस्तार गर्दा मात्रै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने थियो । भारतका दिल्ली, कोलकाता, गुवाहाटी, बङ्गलादेश र भुटानसँग समेत उडान भर्ने गरी विमानस्थल विस्तार गर्न सके नेपालीले पश्चिम वंगालको वागडुग्रा र बिहारको पटना, पुर्णिया गइरहनु पर्ने थिएन, बरालले भन्नुभयो ।
नेपाली काङ्ग्रेसले मोरङ क्षेत्र नं. ४ मा पार्टीका महामन्त्री गुरूराज घिमिरेलाई उमेद्वार बनाएको छ । पार्टीका क्षेत्रीय सभापति बिनोद बस्नेतले विराटनगरको पुरानो शाख फर्काउन गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई पुरा गर्ने,विराट राजाको प्राग ऐतिहासिक दरबारको पुनर्निमाण गर्ने, थारु संग्राहलय निर्माण गर्ने लगायतका प्रतिवद्धता घोषणापत्रमा उल्लेख भएको बताउनु भयो ।उहाँले सुनसरी मोरङ सिंचाई आयोजनाका नहरमा बाह्रै महिना पानी आउने गरी स्तरोन्नति गर्ने, नहर र गाउँ जोड्ने सडक कालोपत्रे गर्ने लगायतका प्रतिवद्धता गरिएको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका उमेद्वार जीवन घिमिरेले आफ्नो घोषणा पत्रमा बथनाहा–कटहरी रेलवे सञ्चालन,कोभिड अस्पताल स्तरोन्नति ,विराटराजाको दरवार पुनर्निर्माण,विराटनगर रिङरोड निर्माण र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
मोरङ ५ का काङ्ग्रेस उमेद्वार फुलकुमार लालवानीले भन्नुभयो –‘औद्योगिक क्षेत्रलाई पुन सञ्चालन,नयाँ उद्योग स्थापनाको वातावरण तयार गर्ने र रोजगारी सिर्जना गर्ने पार्टीको घोषणा पत्रमा उल्लेख गरेका छौं ।’मिल्स एरियाको मनता मन्दिरको जिर्णोद्वार लगायतका थुप्रै कामलाई पार्टीले प्राथमिकतामा राखेको लालवानीको भनाई छ । मोरङ ५ का नेकपा एमालेका उमेद्वार मनोजकुमार अग्रवालले पनि विराटनगरको औद्योगिक क्षेत्रलाई पुन सञ्चालन गर्न र नयाँ उद्योग स्थापना गर्न पहल गर्ने प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरेको बताउनु भयो । क्षेत्र नंं ५का जनता समाजवादी पार्टीले खिया लागेको औद्योगिक क्षेत्रमा प्राण भरेर ५÷७ हजार रोजगारी सिर्जना गर्ने नयाँ उद्योग सञ्चालन सहितको प्रतिवद्धता ल्याएको छ । पार्टीका उमेद्वार राजकुमार यादवले भन्नुभयो–लगानीको वातावरण बनाउनु मुख्य विषय हो । पार्टीले नयाँ उद्योग खोल्ने वातावरण तयार गर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेद्वार आशा झाले विराटनगर औद्योगिक क्षेत्रलाई पुन सञ्चालन गरी रोजगार सिर्जना गर्ने प्रतिवद्धता पार्टीले गरेको बताउनु भयो । मोरङ ५ का नेकपाका उमेद्वार शिवकुमार मण्डलले पार्टीले लगानी मैत्री वातावरण बनाउने बताउनु भयो । सुरक्षित लगानीको वातावरण भए औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ । तर,अस्थिरताले समस्या भएको हो । पार्टीले विराटनगर औद्योगिक क्षेत्र पुनःसञ्चालनका लागि विशेष पहल गर्ने बताउनु भयो ।
मोरङ ६ मा नेपाली काङ्ग्रेसले पार्टीका वरिष्ट नेता डा. शेखर कोइरालालई उमेद्वार बनाएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले भन्नुभयो –विराटनगरको ऐतिहासिक शाख फर्काउन कांग्रेसले केही काम थालेको थियो । तर, सरकार स्थिर नहुँदा कुनै पनि योजना पुरा भएनन् । विराटनगर विमानस्थल स्तरोन्नति , औद्योगिक क्षेत्र पुन सञ्चालन र गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रंगशाला यहाँका मेघा प्रोजेक्ट हुन् । यि तीन वटै कार्यक्रमलाई कांग्रेसले प्राथमिकताका साथ घोषणा पत्रमा राखेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका मोरङ सचिव सोमराज थापाले महानगरमा पर्ने तीन वटा निर्वाचन क्षेत्रले आ आफ्नो प्रतिवद्धता पत्रमा तिन वटै मेघा प्रोजेक्टलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

























