बेलबारी। नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उमेदवार डाक्टर सुनिलकुमार शर्माले हाल साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार लगायत मध्यपूर्वका विभिन्न देशहरूमा सुरक्षा अवस्था जटिल बन्दै गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
शनिवार विज्ञप्ति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भइरहेका समाचारप्रति उहाँले ध्यानाकर्षण भएको बताउँदै त्यहाँ श्रम गर्न गएका नेपालीको सुरक्षा प्रति चिन्ता प्रकट गर्नु भएको छ।उहाँले चिन्ता व्यक्त गर्दै ती देशहरूमा रोजगारी, व्यवसाय तथा विभिन्न पेशामा संलग्न हजारौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरू हाल अनिश्चितता र त्रासको वातावरणमा बस्न बाध्य छन्। परदेशमा श्रम र पसिनाले आफ्नो परिवारको भविष्य निर्माण गरिरहेका नेपालीहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र संवेदनशील विषय हो। उहाँका अनुसार अहिले देशभित्र रहेका ती नागरिकका परिवारहरू पनि भय, चिन्ता र अन्योलमा दिन बिताइरहेका छन्। यस्तो संवेदनशील घडीमा उहाँले नेपाल सरकारसँग जिम्मेवार र संवेदनशील ढंगले तत्काल पहल गर्न आग्रह गर्नुभएको छ। उहाँको धारणा छ—विदेशमा रहेका प्रत्येक नेपालीको जीवन, सुरक्षा र मर्यादा राज्यको सर्वोच्च दायित्व हो। त्यसैले उहाँले निम्न विषयहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गर्नुभएको छ ।
१. सम्बन्धित देशहरूमा रहेका नेपाली नागरिकहरूका लागि विश्वसनीय, स्पष्ट र नियमित रूपमा अद्यावधिक हुने सुरक्षा तथा यात्रा सूचना तुरुन्त जारी गरियोस्।
२. सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सुरक्षित उद्धारका लागि पूर्वतयारी, स्पष्ट कार्ययोजना र आवश्यक स्रोत–साधनको व्यवस्थापन तत्काल सुनिश्चित गरियोस्।
३. नेपाली कूटनीतिक नियोगहरू, सम्बन्धित देशका सरकारहरू तथा अन्तर्राष्ट्रिय निकायहरूसँग प्रभावकारी समन्वय र कूटनीतिक पहल सुदृढ गरियोस्।
उहाँले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ कि विदेशमा रहेका नेपाली नागरिक कुनै पनि अवस्थामा असुरक्षित, उपेक्षित वा अलपत्र पर्नु हुँदैन। उनीहरूको सुरक्षाको प्रत्याभूति दिनु मात्र प्रशासनिक दायित्व होइन, मानवीय कर्तव्य पनि हो।यस कठिन र संवेदनशील परिस्थितिमा उहाँले सरकारसँग अग्रसर नेतृत्व, शीघ्र निर्णय र ठोस तयारीसहित कार्य गर्न अपिल गर्नुभएको छ, ताकि परदेशमा रहेका नेपाली नागरिकहरूले आफू एक्लो नभएको, आफ्नो देश र सरकार साथमै रहेको अनुभूति गर्न सकून्। उहाँले अन्त्यमा स्वदेश मै रोजगार सिर्जना गर्न सकेको भए यो भयावहको सामना नेपाली समूदायले गर्नु नपर्ने उल्लेख गर्नु भएको छ ।

























