माेरङ । निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा १ वर्ष ७ महिना अगाबै सम्झाैता भएकाे कानेपोखरी गाउँपालिका ६ मा रहेको जनसेवा मा बि को नमुना विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।बसन्त पञ्चमीको अवसर पारेर नवनिर्मित भवन गाउँपालिका अध्यक्ष राजमती ईङ्गनामले उद्घाटन गर्नुभएको हो ।
संघीय सरकारको नमुना विद्यालय भवन निर्माण कार्यक्रम अन्तर्गत जनसेवा माध्यमिक विद्यालयको सारा सृष्टि निर्माण सेवा प्रा. लि.ले भवन निर्माण गरेको थियो । २०७५ जेठ २६ मा सम्झौता भै २०८३ असार १५ गते सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा सम्पन्न गर्नुपर्ने समय भन्दा करिव १ बर्ष ७ महिना अगावै भवन निर्माण कार्य सम्पन्न भएको थियो । सारा सृष्टि निर्माणका प्रोप्राइटर श्री सन्तबहादुर राईलाई समय अगाबै काम सम्पन्न गरेकोमा प्रोत्साहन स्वरुप सम्मान-पत्र पालिका अध्यक्ष राजमति ईङ्गनाम,उपाध्यक्ष भोलाप्रसाद अधिकारी लगायत पालिका एवम बिधालय परिवारले सम्मान व्यक्त गरेका थिए ।
४ करोड ३४ लाख ४३ हजार ६७ रुपैया लागतमा सुविधा सम्पन्न ३ तल्ले भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष राजमती ईङ्गनामले सम्झौता भएका ठेक्काहरु समय मै नसकिने वर्षौ वर्ष समय थपिदिइ रहनुपर्ने देश व्यापी समस्या रहेको छ । उहाँले भन्नुभयो “ठेक्का सम्झौता समय अगाबै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पालिकाले मात्र नभइ देश व्यापी रुपमा सम्मान गर्नुपर्छ थप हौसला प्रदान गर्नुपर्छ” । यस्तै उहाँले सारा सृष्टि निर्माणका प्रोप्राइटर श्री सन्त बहादुर राईलाई समय अगाबै सम्पन्न गरेकोमा धन्यवाद सहित अन्यत्र ठाउँमा पनि यसरी नै काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।यस्तै वसन्त पञ्चमीको विध्यार्थी एवम शिक्षक सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।सरस्वती पूजाको अवसरमा नयाँ भवन उद्घाटन तथा हस्तान्तरण, अक्षयकोषका छात्रवृत्ति वितरण, क्यानडा जनसेवा भलिवल प्रतियोगिताको पुरस्कार वितरण लगायत कार्यक्रमको आयोजना गरिएको थियो ।

























