साउन २ । मोरङको बेलबारी–१ नक्सल उत्तरको घना जङ्गलमा अन्दाजी ६५/६६ वर्षका वृद्ध भेटिनु भएको छ ।
आफन्त कोही नभएका बेलबारी–७ का जामुनलाल झाँगड मङ्गलबार दिउँसो १ बजेतिर जङ्गलको बिचमा भेटिनु भएको हो । बेलबारी चिसाङ साझेदारी बन उपभोक्ता समूहका बनहेरालुहरूले जङ्गल गस्ती गर्ने क्रममा वृद्धलाई भेटेका हुन् । जङ्गलमा वृद्ध भेटिएपछि बन हेरालुहरूले सव डिभिजन बन कार्यालयका राजेन्द्र घिमिरे र गणेश कार्कीको सहयोगमा उद्धार गरी बेलबारी ल्याएका थिए । साझेदारी बनका अध्यक्ष दिनेशप्रसाद गिरीले भन्नुभयो – ४ दिन अघि कसैले मोटरसाइकलमा हालेर जङ्गलमा छोडेको बुझिएको छ । तर, कसले छोडेको खुलेको छैन् ।
बेलबारी –७ कि वडाध्यक्ष सुनिता चौधरीले वृद्धका छोराहरू एकजना भारत तिर रहेको र अर्का सुन्दरहरैँचा १ मा रहेको बुझिएको बताउनुभयो । बेलबारी ७ मा उहाँका आफन्त कोही नभएको थाहा भयाे । उहाँले जङ्गल लगेर छोड्नेको पहिचान नभएको बताउनु भयो ।वृद्धको बेलबारी नगर अस्पतालमा प्राथमिक उपचार गरी सुन्दरहैँचा १ पठाइएको वडाध्यक्ष चाैधरीले बताउनुभयो । तर, केहीले भने जामुनलाल भतिजको घरमा बस्दै आएको बताएका छन् । वडाध्यक्ष सुनिता चाैधरीले वृद्धका आफन्त ७ नम्बर वडामा काेही नभएकाे दाबी गर्नुभयो ।

























