काठमाडौं । निःशुल्क स्वास्थ्य शिविर लिएर देशका कुना कन्दरामा पुगिरहनु भएका कांग्रेस सांसद सुनिल शर्माको शिविर सर्लाहीबाट सप्तरी पुगेको छ । आइतबार सप्तरीको बोधेबर्साइन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले शिविरमा १३२३ जना बिरामीको उपचार गरेका छन् । केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले शिविरमा ३७ जनाको इको, १०३ जनाको ल्याब परीक्षण, १४० जनाको भिडियो एक्सरे, ६३ जनाको इको गरिएको छ । शिविरबाट थप उपचार र शल्यक्रियाका लागि ३५ जनालाई रेफर गरिएको छ । रेफर गरिएका बिरामीको निःशुल्क शल्यक्रियाका लागि केएमसीमा व्यवस्था मिलाइएको छ । भने, नोवेल शिक्षण अस्पतालमा ५० प्रतिशत छुट सहित शल्यक्रिया गर्ने व्यवस्था छ ।
शिविरमा केएमसी र नोवेलमा डाक्टरहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी रोग सम्बन्धी सेवा दिएका थिए । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न नागरिकले सेवा लिएका थिए ।
नेपाली कांग्रेस नगरसभापति दिपेन्द्र यादवको सभापतित्वमा सम्पन्न शिविरको प्रमुख अतिथी संघीय यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी चौधरीले सांसद सुनिल शर्माले राज्यले गर्न नसकेको काम गरेर पुन्य कमाएको भन्दै प्रशंसा गरे । कार्यक्रममा विशिष्ट अतिथी सांसद डा. शर्मा, नेपाली कांग्रेस मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, ४ नं. क्षेत्रिय सभापति सिताराम साहले मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले आम नागरिकलाई घरदैलो मै निःशुल्क स्वास्थ्य उपचार पुर्याउने हेतूले स्वास्थ्य शिविर चलाएका हुन् । उनको स्वास्थ्य शिविरबाट सातै प्रदेशका लाखौं जनता लाभान्वित भइसकेका छन् ।

























